भक्तपुरमा साख बोकेको द च्यालेन्जरमा रिताको स्थान


आसन्न बाग्मती प्रदेश तेक्वान्दो च्याम्पियनसिपको लागि भक्तपुर जिल्लाको छनोट सम्पन्न भएको छ  । च्याम्पियनसिपमा द च्यालेन्जर तेक्वान्दो डोजाङ पहिलो भएको छ । एक दिने प्रतियोगितामा च्यालेन्जरले ६ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको हो । भक्तपुर जिल्ला स्तरीय सो च्याम्पियनसिपमा किरण सितिखु, आशिष लामा, सञ्जय लामा, सृष्टि पौडेल, रीतिका महर्जन र जिसा बस्नेतले स्वर्ण पदक जितेका थिए ।


विश्वराम मुस्याख्वाको नेतृत्वमा रहेको सो डोजाङका्े यो सफलतामा रिता मुस्याख्वाको भूमिका पनि उत्तिकै प्रभावकारी रहेको छ । च्यालेन्जरले यो मात्र होइन यस भन्दा अघि पनि थुप्रै यस्तै सफलता पाइसकेको छ ।
१३ वर्ष लामो इतिहास रहेको च्यालेन्जरको यो सफलतामा खेलाडीको रूपमा तथा प्रशिक्षकको रूपमा रिताको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको छ । यो डोजाङको सफलतामा सुसेन गणेश र सरोज लवजुको पनि भूमिका रहेको छ ।
खेलाडीको रूपमा उनले पाएका सफलता पनि यत्तिकै सहनीय रहेको छ । हाल राष्ट्रिय रेफ्रि रहेकी रिता नेपाल तेक्वान्दो सङ्घ महिला सशक्तीकरणले आयोजना गरेको तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रिको रूपमा सक्रिय थिइन् । यसका अघिल्लो दुई संस्करणमा उनले स्वर्ण पदक जितेकी थिइन् । निजगढमा सम्पन्न प्रदेश न २ स्तरीय प्रतियोगितामा उनले स्वर्ण पदक जितेकी थिइन् । राष्ट्रिय च्याम्पियनसिपमा लागि सिमरामा भएको राष्ट्रिय च्याम्पियनसिप छनोटमा उनी पहिलो भएकी थिइन् ।


प्रशिक्षकको रूपमा च्यालेन्जरमा उनको सक्रियता पछि नयाँ फड्को नै मारेको छ । भक्तपुरमा हुने प्राय प्रतियोगितामा च्यालेन्जर टिम पहिलो हुने गरेको छ । धेरै प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पनि च्यालेन्जरले पाउने गरेको छ । सन् २०१० मा ग्वान्झाउमा भएको एसियाडको क्याम्पमा रहे पनि उनी अन्ततः सबिना मर्हजनसंग पराजित हुँदै एसियाड खेल्ने अवसर गुमाएकी थिइन् ।
खेलाडीको रूपमा उनको स्तर यहीँ नै हो भनेर भन्न कठिन हुन्छ । तर, बृहद अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसरबाट उनी धेरै पटक एक पाइलाले मात्र चुकेकी छिन् । थुप्रै घरेलु स्टार खेलाडीसँगको उनको ‘ हेड टु हेड ’ रेकर्ड हेर्दा आहा भन्न लायक छ । तर, यसका बाबजुद खेलाडीको रूपमा मात्र आफूलाई सीमित नगरेर प्रशिक्षकको रूपमा उनले पाइला अघि सारे पछि च्यालेन्जरका युवा खेलाडीका लागि समेत ठुलो बल पुगेको छ ।


उनको तेक्वान्दो जीवनमा सबैभन्दा ठुलो साथ र सहयोग उनका दाजु विश्वराम मुस्याख्वको रहेको छ । प्रशिक्षक समेत रहेका दाजुको यो सहयोग पछि परिवारका अन्य सदस्यको साथ त स्वभाबिक रूपमा रहने नै भयो यत्तिसम्म की उनकी भाउज्यू सङ्गीता मुस्याख्व पनि तेक्वान्दो खेलाडी नै हुन् । उनका जेठा दाजु पुण्यराम मुस्याख्व पनि तेक्वान्दो खेलाडी हुन् । उनका भदा सहित एउटै घरमा ५ जना तेक्वान्दो कर्मी रहेको यो दुर्लभ घरकी एक पात्र रिता अझ लामो समय तेक्वान्दोमा समर्पित हुँदै द च्यालेन्जरलाई नयाँ उचाइ दिने योजनामा तल्लीन छिन् ।

Comment