तेक्वान्दाको सबै विधामा प्रभाव छाड्दै मुलपानी तेक्वान्दो डोजाङ

नेपाली तेक्वान्दो अहिलेको व्यापक र विस्तृत स्वरूपमा आउने क्रममा थुप्रै व्यक्तिहरूको महत्त्वपूर्ण योगदान,, श्रम र त्याग जोडिएको छ । विभिन्न संस्थाको पनि उत्तिकै योगदान छ । नेपालमा रहेका सयौँ तेक्वान्दो डोजाङ मध्य केही डोजाङको यस खेलको हरेक विधामा छाप रहेको छ ।
यसरी तेक्वान्दो गीत देखि प्रतियोगितामा उत्कृष्ट परिणाम लगायतमा अब्बल छ, मुलपानी तेक्वान्दो डोजाङ । २०५३ मा यस एकेडेमीको स्थापना भएको थियो । यस २५ वर्षमा मुलपानीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न सफलता पनि पाइ सकेको छ ।
यस २५ वर्षको अन्तरालमा डोजाङले ३५० जना भन्दा बढी ब्ल्याक बेल्ट उत्पादन  गरी सकेको छ । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सफलता पाएको यस डोजाङका मधुसूदन सापकोटा केही समय अघि भएको पुम्से राष्ट्रिय च्याम्पियनसिपमा आफ्नो स्पर्धामा प्रथम भई राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भई सकेका छन् । यसै प्रतियोगितामा सफलता पाएका भिजन तामाङले राष्ट्रिय टोलीमा स्थान मात्र बनाएनन्, उज्ज्वल भविष्यको सम्भावना समेत देखाएका छन् ।मुना खवास, विवेक श्रेष्ठ र अशोक गिरि जस्ता होनहार खेलाडीको उदय यसै  डोजाङबाट भई सकेको छ ।
यस डोजाङका प्रमुख अशोक खड्का काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष छन् । काठमाडौँमा रहेको उनको लोकप्रियता र सृजनशीलता अन्य धेरै जिल्लाका लागि समेत उदाहरणीय मानिन्छ ।
खड्काको अर्को कीर्तिमान रहेको छ । तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा विधामा अन्तर्राष्ट्रिय निर्णायक हुने उनी नेपालका एक्लो व्यक्ति हुन् । यसै कारण उनलाई प्रतियोगिता सञ्चालन गर्न भ्याइ नभ्याई नै छ । कोभिड महामारीका कारण भौतिक रूपमा उपस्थित भएर प्रतियोगिता सञ्चालन गर्न अवरोध भए पनि भर्चुअल प्रतियोगितामा उनी व्यस्त छन् ।
मुलपानीको लक्ष्य राम्रो खेलाडी उत्पादन गर्ने मात्र नभई राम्रो नागरिक उत्पादन गर्ने रहेको अशोकको मत छ । यसका लागि उनी उदाहरण बनेका छन् । नेपालमा कोभिड महामारी सुरु भएको १८ महिनामा धेरै जनालाई खाद्यान्न सहित ओषधी उपचार लगायतमा सहयोग गरेको अशोक मानवताले उत्प्रेरित व्यक्ति मानिन्छन् । मुलपानीले उत्पादन गरेको खेलाडीमा पनि त्यो भावना पाइन्छ ।
जिल्ला , क्षेत्रीय र राष्ट्रिय स्तरमा थुप्रै प्रतियोगितामा यो एकडे मीले पहिलो स्थान पाइ सकेको छ । साथै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलपानीका खेलाडीको सहभागिता रहने  गरेको छ । चीनको ग्वान्झाउमा भएको एसियाडमा मुलपानीका  उत्पादन यादव पौडेलले सहभागिता जनाएका थिए । हंगकंग, मलेसिया, जापान, कोरिया र भुटान लगायत देशमा भएका प्रतियोगितामा मुलपानीका खेलाडीले सहभागिता जनाइ सकेका छन् ।

स्थानीयको समेत सहयोग रहेको यो डोजाङ काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित छ  सो क्षेत्रमा यो डोजाङको पायनीयर खेल संस्थाको रूपमा पहिचान छ । प्रमुख अशोककै अनुसार सम्पूर्ण खेलाडी तथा एकेडेमीमा आबद्ध प्रशिक्षकका कारण यो सम्भव भएको हो ।
नेपाली तेक्वान्दोमा यो डोजाङका गर्व गर्न लायक थप पाटो पनि छ । नेपालको तेक्वान्दो गीत यसै डोजाङमा तयार भएको हो । डोजाङका उपाध्यक्ष दिवङ्गत दिनेश दाहालले गीत लेखेका थिए ।

Comment