खेल देखि सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय बिबिसी

बिबिसी कार्य समिति
नेपाली फुटबलमा अहिले थुप्रै शक्ति रहेका छन् । यी हरेक क्लबका खेलकुद मात्र होइन सामाजिक भूमिका पनि रहेका छन् । हरेक क्लबका सांस्कृतिक र सामाजिक पक्ष र त्यसमा विविधता पनि रहेका छन् ।
ललितपुरको मान भवनमा रहेको ब्रिगेड ब्वाइज क्लब( बिबिसी)को नेपाली फुटबलमा भिन्न पहिचान र प्रभाव छ । यस क्लबको फुटबलमा जुन प्रभाव छ, त्यो भन्दा बढी सामाजिक काममा छ । हरेक समय नेपालमा रहेका दैवी या प्राकृतिक विपत्तिमा यो क्लब दुख र पिडामा रहेकाहरूमा समर्पित हुने गरेको छ । यसैले भन्न सकिन्छ की, नेपाली फुटबलमा सामाजिक भावना भएका व्यक्तिहरूको जमात नै बिबिसी हो ।

प्रशिक्षक सनोज

१९८७ मा यो क्लब राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको थियो । सोही समय देखि यो क्लब फुटबल प्रतियोगितामा सक्रिय रहेको यस क्लबले बास्केटबल र ब्याडमिन्टन प्रतियोगितामा समेत आफूलाई सक्रिय राखेको छ ।

युवाहरूलाई खेलका साथै सामाजिक कार्यमा सक्रिय राख्ने र समाजसेवाका लागि समेत प्रेरित गर्ने यस क्लबले २०७२ को महा भूकम्पको समय होस या चितवनमा त्यसको दुई वर्ष पछि बाढी पहिरोको समयमा होस, दुखमा परेकालाई सहयोग गर्दै सामाजिक उत्तरदायित्वमा आफूलाई अग्रणी राखेको थियो ।
विभिन्न विद्यालयमा समेत यस क्लबले सहयोग गर्दै आएको छ । चम्पादेवी माध्यमिक विद्यालय,श्री कन्या स्कुल, अरुणोदय निम्न माध्यमिक विद्यालय र घुसेल हाइ स्कुल पनि रहेका छन् ।
मान भवनमा  क्लबको हातामा स्तरीय ब्याडमिन्टन कोर्ट बनाएको यो क्लबले रक्तदान र  निःशुल्क स्वास्थ्य शिविर लगायत कार्यक्रम सहित यो क्लबले स्वास्थ्य क्षेत्रमा समेत आफूलाई सक्रिय राखेको छ ।
फुटबलमा प्रभावकारी छाप छाडेको यो क्लब २००४ ,२००९ र २०१४ मा बी डिभिजनबाट बढुवा भएको हो ।  ए डिभिजनमा यसको प्रदर्शन उतार चढाव छ  तर, हरेस खाएको छैन । हाल ए डिभिजनमा प्रतिस्पर्धा गरी रहेको यो क्लब डाइनामिक युवा नेतृत्वको मातहतमा अघि बढी रहेको छ ।
नेपाली फुटबलमा यो क्लबको सानदार उपस्थिति २०१८ को  ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको दौरान देखिएको हो । उपाधि विजेता समेत बनेको यस क्लबका १२ जना खेलाडी राष्ट्रिय यु–१८ टोलीमा अटाएका थिए ।
विगतमा ए डिभिजन लिगको दौरान अनिल गुरुङको उदय यसै क्लबबाट भएको थियो ।  बिबिसीबाट ए डिभिजन क्यारियर सुरु गरेका अनिलले यस पछि लगातार फड्को मार्दै नेपाली फुटबलमा नयाँ उचाइ पाएका थिए ।
आफ्नो क्लब इतिहासमा यस क्लबले थुप्रै सफलता पनि पाएको छ । २०१९ मा दिपसीखा यूथ क्लबले सञ्चालन गरेको चन्द्रागिरि गोल्ड कपमा बिबिसी सेमिफाइनलमा प्रवेश गरेको थियो । यस क्लबले २०१८ र १९ मा लगातार दुई पटक ललित स्मृति यूथ फुटबल प्रतियोगिताको उपाधि जितेको हो । २०१४  मा ए डिभिजन प्रवेश गर्ने क्रममा बी डिभिजन विजेता बनेको यो क्लब २००९ मा भने उप विजयी रहेको थियो ।
२००५ मा धुलिखेल नगर पालिकाको आयोजनामा भएको धुलिखेल नगर कपमा यो क्लब विजेता बनेको थियो । २००४ मा पनि यो क्लब बी डिभिजन लिग विजेता नै बनेको थियो । २००१ र २००१ मा कुसुन्ती क्लबले आयोजना गरेको कुसुन्ती कपमा यो क्लब उपविजेता बनेको थियो । जावलाखेल यूथ क्लबले १९९७ मा आयोजना गरेको इसु मेमोरियल कपमा उपविजेता बनेको बिबिसी एक वर्ष पछि यसको पछिल्लो संस्करणमा विजेता बनेको थियो । यस अघि नै १९८७ मा डी डिभिजन लिग च्याम्पियन बनेको यो क्लब १९९३ मा सी डिभिजन च्याम्पियन भएको हो । १९९७ मा लगनखेल युवा समूहले आयोजना गरेको लगनखेल युवा कपमा यो क्लब विजेता बनेको थियो ।
एक तहका प्रतियोगिताहरूमा उपाधि जितेको यो क्लबले  विगतमा त्रिभुवन च्यालेन्ज सिल्ड,बर्थ डे कप, हिमालयन बैङ्क कप, खुकुरी गोल्ड कप, यु–१४ ए डिभिजन लिग, सुन मुन कप र ब्रिटिस गोर्खा कप जस्ता प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । यसै गरी, दार्जिलिङको खरसाङमा भएको बबी मेमोरियल कपमा सहभागी यस क्लबे विदेशी भूमिमा समेत आफ्नो औचित्य पुष्टि गरिसकेको छ ।
फुटबललाई प्रमुख खेल ठान्दै आएको यो क्लबको उपस्थिति अन्य खेलमा पनि नभएको होइन । मान भवन एभीएम चोकमा २००३ मा ब्याडमिन्टन कोर्टको निर्माण गरेको यो क्लबले यसै समय देखि अमर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न सुरु गरेको हो । विगतमा राष्ट्रिय स्तरका थुप्रै बास्केटबल प्रतियोगितामा समेत यो क्लबको सहभागिताको इतिहास छ ।
फुटबल या अन्य खेलमा गरेको प्रदर्शनले त बिबिसीलाई एउटा पहिचान दिएकै छ । त्यो भन्दा पनि बढी सामाजिक सेवामा उत्तिकै सक्रिय र सामाजिक उत्तरदायित्वलाई बुझेका व्यक्तित्वहरूको जमात बिबिसी हो । जुन हाम्रो समाजको आजको आवश्यकता पनि हो ।
Comment