केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड अर्को महिना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगताको आठौं संस्करण बैशाखमा हुने भएको छ । राखेपले प्रतियोगिता बैशाख २२ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र कभर्डहलमा हुनेछ ।प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराते र तेक्वान्दो गरी ६ खेल समावेश छन् । सबैमा मिलाएर जम्मा ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत एवं राष्ट्रपति रनिङ सिल्ड समन्वय समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।
समग्रमा टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार तथा तेश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । टिममा एथलेटिक्स, भलिबल र पहिलो पटक समावेश गरिएको कबडड्ीको पदकको मात्र अंक गणना गरिने छ । राष्ट्रिय रेकर्ड भंग गर्नेलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । टिम र व्यक्तिगत स्पर्धामा पहिलोदेखि तेश्रो हुने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था छ ।कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
शर्माका अनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा पहिलो हुने प्रत्येक विद्यालय टिमलाई ५० हजार नगद पुरस्कार समेत प्रदान गरिने छ । त्यस्तै जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएका सामूदायिक विद्यालयलाई प्रोत्साह स्वरुप खेल सामाग्री व्यवस्थापन गर्न नगद पनि प्रदान गरिने छ ।

Comment