सार्वजनिक संस्थान खेलकुद अर्को साता

सार्वजनिक संस्थान खेलकुद संघ नेपालको आयोजनामा नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता टेलिकम कप– २०७२ माघ १५ गतेदेखि हुने भएको छ ।नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा दौड र बुद्धिचालतर्फ प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् ।दौडलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा हुने छ । पुरुष÷महिलातर्फ क्रमशः १० र ५ किलोमिटर दूरीमा खुला र कर्मचारीतर्फ प्रतिस्पर्धा हुनेछ । खुलामा राष्ट्रियस्तरका खेलाडी समेतले भाग लिन पाउने छन् । कर्मचारीतर्फ सार्वजनिक संस्थान, स्थानिय निकाय, दूरसंचार प्रदायक कम्पनी, एयरलाइन्स तथा ‘क’ वर्गका बैंकमा कार्यरत कर्मचारीहरु समावेश हुन पाउने प्रावधान छ ।
दौडतर्फ कुल पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको छ । खुलातर्फ पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कर्मचारीतर्फ शीर्ष तीन स्थान हात पार्ने पुरुष÷महिलाले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।बुद्धिचालमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् । बुद्धिचाल माघ १५ र १६ गते भद्रकाली प्लाजास्थित टेलिकमको केन्द्रीय कार्यलयमा हुने छ । माघ १६ मा हुने दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालबाट सुरु भइ पुनः दशरथ रंगशालामै आएर टुंगिने छ ।दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ९२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्यले जानकारी गराए । स्थान उपलब्ध नभएकाले भलिबल, टेबलटेनिस र ब्याडमिन्टनलाई बैशाखमा गर्ने गरी सारिएको महासचिव श्रेष्ठले बताए ।

Comment