तेक्वान्दो बाहेक सबै खेलको बन्द प्रशिक्षण सुरु

archary 1e
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ । तेक्वान्दो छनोट मंगलबार सम्पन्न भइसकेको छ ।
नेपालले भारतको गुहाटी र सिलोङमा हुने सागमा विभिन्न २३ खेलमा सहभागिता जनाउने १२ औं दक्षिण एसियाली खेलकुद तयारी समितिका सचिव नवीन उप्रेतीले जनाएका छन् । नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, फुटबल, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङमा सहभागिता जनाउने छ ।
हक्कीको महिला टिम मात्र सहभागी हुने छ । पुरुष टिमको हकमा आफ्नै खर्चमा सहभागी हुन चाहे त्यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्विकृति दिने तालिम तथा प्रशिक्षण विभागका निर्देशक समेत रहेका सचिव उप्रेतीले जानकारी गराए । बाँकी सबैमा पुरुष÷महिला खेलाडी सहभागी हुने छन् ।
उप्रेतीका अनुसार नेपालबाट १ सय ९१ पुरुष र १ सय ९५ महिला गरी जम्मा ३ सय ८६ खेलाडीले दक्षिण एसियाकै सबै भन्दा ठूलो प्रतियोगिता सागमा सहभागी हुने छन् ।
अधिकांश खेलको प्रशिक्षण उपत्यका केन्द्रीत छ । केहि खेलको प्रशिक्षण मोफसलमा पनि भइरहेको छ । ट्रायथलन र भलिबलको प्रशिक्षणका लागि विदेशबाट प्रशिक्षक आएका छन् । ट्रायथलनका लागि स्विडिस र भलिबलका लागि इरानका प्रशिक्षण हाल नेपालमा छन् । त्यस्तै केहि खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लाने तयारी पनि भइरहेको छ भने केहि खेलाडी विदेशमै प्रशिक्षणरत छन् ।

Comment