खेल क्षेत्रको महत्वलाई बुझेर अगाडि बढ्न आवश्यक ः प्रम ओली

madan bhandarieराष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री केपी ओलीले खेल क्षेत्रको व्यापक महत्वलाई बुझेर अगाडि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको स्थापना दिवसका अवसरमा शुक्रबार त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो धारणा व्यक्त गरेका छन् । ‘राष्ट्रको उन्नती, प्रगति, विकासका निम्ति खेल क्षेत्रको व्यापक महत्वलाई बुझेर अगाडि बढ्न आवश्यक छ ।’ प्रधानमन्त्री ओलीले भने– ‘निजी, समूहगत, दलगत, गुटगत स्वार्थ पूर्तिका निम्ति नभइ मानव जाती र राष्ट्रको प्रगतिका निम्ति खेलकुदलाई अगाडि बढाउनु पर्छ ।’ प्रधानमन्त्री ओलीले खेल मैत्री र खेलकुद मार्फत सिंगो नेपाललाई मैत्री बनाउने वातारण बनाउनु पर्नेमा जोड दिए । उनले खेलकुद जगतको एकताको भावनाले नकरात्मक सोचलाई पराजित गर्न सक्ने बताउदै आजको आवश्यकता पनि त्यही भएको बताए । उनले खेलकुदलाई अगाडि बढाउने सन्दर्भमा सरकार तयार भएको प्रतिबद्धता जनाउदै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सिंगो खेलकुदमा महत्वपूर्ण स्थान बनाउन सफल रहोस् भनी शुभकामना दिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री ओलीले एकेडेमीको वेभसाइट डब्लुडब्लुडब्लु डट मदन स्पोर्ट्स डट ओआरजीको विधिवत् शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रमअघि शुक्रबारै एकेडेमीले वाकाथन कार्यक्रम आयोजना गरेको थियो । वाकाथन भृकुटिमण्डबाट सुरु भइ भद्रकाली, शहिद गेट, त्रिपुरेश्वरहुँदै राखेपको प्राङ्गणमा आएर कार्यक्रममा परिणत भएको थियो । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको नेतृत्वमा भएको वाकाथनमा राखेप सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, खेलाडीलगायत गरी करिब ३ हजारको सहभागिता रहेको एकेडेमीका महासचिव वचन देउजाले जनाएका छन् । ६ वर्षअघि जनवरी १ तारिखकै दिन एकेडेमीको स्थापना भएको थियो ।

 

Comment