ब्याडमिन्टन खेलाडी छनोट पूरा

badminton1e
भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागी हुने ब्याडमिन्टन खेलाडीको मंगलबारअन्तिम टुंगो लागेको छ । पुरुषमा नेपाल आर्मी क्लबका दीपेश धामी, एपीएफ क्लबका विकास श्रेष्ठ, आर्मीका रत्नजित तामाङ, आर्मीका नवीन श्रेष्ठ, नेपाल प्रहरी क्लबका विष्णु कट्वाल तथा एपीएफका सुदीप सेढाईं र साजनकृष्ण ताम्राकार क्रमशः शीर्ष ७ स्थानमा रहँदै छनोट भए ।
महिलामा शीर्ष ७ स्थान हात पारेका क्रमशः सरादेवी तामाङ, नङ्शल तामाङ, अमिता गिरी, शिक्षा श्रेष्ठ, जेशिका गुरुङ, मेघा चन्द र अन्जु राई छानिए । शिक्षा एपीएफकी हुन् भने बाँके सबै आर्मीमा आबद्ध छन् ।
अन्तिम छनोटमा १० पुरुष र ८ महिला खेलाडीले राउन्ड लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । सागमा ब्याडमिन्टन नवौं संस्करणदेखि समावेश भएको थियो । नियमित रुपमा सहभागिता जनाउदै आएको ब्याडमिन्टनले ७ कांस्य जितेको छ । एकल स्पर्धामा सुमिना श्रेष्ठले १० औं सागमा कांस्य जितेकी थिइन् । बाँकी ६ कांस्यमा पुरुष÷महिला टिम इभेन्टमा बराबर संख्या रहेको छ ।

Comment