इन्द्र र नवीन दोस्रो चरणमा

bad1
एपिएफका इन्द्र महता र आर्मीका नवीन श्रेष्ठ तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । बिहिबार भएको मेन्स सिंगल्समा इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१० र २१–५ ले हराए । यस्तै नवीनले सामाखुशीका सुगन थापालाई २१–११ र २१–८ ले स्तब्ध पारे । सिंगलतर्फै एपिएफका विदित थापामगर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी मेनस डबल्समा बीबीसीका गणेश रायमाझी र विश्वास नेपाल, एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बु पनि आफ्नो खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । मिक्स डबल्स्मा आयोजकका वीरेन्द्र थापा र विना पुनको जोडी र पुलिसका विष्णु कटुवाल र अनुशा राईको जोडीले पनि सफलता हात पार्दै दोस्रो चरणको यात्रा तय गरेका छन् ।
गंगटा युवा क्लबद्वारा आयोजित तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन राष्ट्रिय  खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले बिहिबार उद्घाटन गरेका थिए । सो अवसरमा राखेपका सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष, महासचिव आयोजकका अध्यक्ष रेशम पुन, प्रतियोगिता संयोजक वीरेन्द्र थापा, क्लबका संरक्षक चित्र बहादुर केसी लगायतको उपस्थिति थियो ।
सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको छ । प्रतियोगिता हरेक दुई बर्षमा आयोजना हुँदै आएको छ ।
सर्वाधिक ५ लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको यस प्रतियोगितामा आउदो दक्षिण एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय स्तरका खेलाडीको लागि अलग्गै प्रतियोगिता समेत आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको वरियतामा रहेका शीर्ष १६ खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । राष्ट्रिय स्तरका खेलाडीका लागि र अन्य गरि ५ वटा इभेन्ट प्रतियोगितामा समेटिएका छन् । जसमा खुला पुरष युगल, जुनियर एकल (यू–१४,ब्वाइज) , मिश्रित युगल र  भेट्रान्स (४५ बर्ष माथि) को रहेका छन् ।

Comment