सुटिङ खेलाडी छनोट पूरा

tikaram1
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट बिहीबार पूरा भएको छ । विभिन्न चार स्पर्धामा समान ६–६ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् ।
पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे (५६९ अंक) पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ (५६६ अंक) दोश्रो र ललितपुरका असिम यादव (५६१ अंक) तेश्रो भए । सोही स्पर्धाको महिलामा रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणा (३८९ अंक) पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी (३८५ अंक) दोश्रो र अस्मिता राई (३८५ अंक) तेश्रो भए ।
सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी (५५२ अंक) पहिलो, नेपाल आर्मीका कुवेर केसी (५४८ अंक) दोश्रो र काठमाडौंका सुमन तुलाधर (५३९ अंक) तेश्रो भए ।त्यस स्पर्धाको महिलामा सबै प्रहरीका खेलाडी छनोट भए । सविता बस्नेत (३६३ अंक) पहिलो, सीमा तुलाधर (३६० अंक) दोश्रो तथा मनीता राई (३५७ अंक) तेश्रो भए ।पुरुषमा ६ सय र महिलामा ४ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । सागको पाँचौं संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ६ कांस्य जितेको छ ।

Comment