कुङफुमा नेपाल टिम च्याम्पियन

kongfue
भारतको नयाँ दिल्लीमा भएको आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ ।
नेपालसहित विभिन्न १७ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १२ स्वर्ण, ६ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भएको टिम प्रशिक्षक सुकमान लामाले जनाएका छन् । भारत दोश्रो भयो ।
डिसेम्बर ३ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा रमेश नेपाली, सूर्य लामा र विकास लामाले दोहोरो स्वर्ण जिते । उनीहरुले थाउलु र सान्डामा स्वर्ण जितेका हुन् । श्रृष्टि श्रेष्ठले थाउलुमा स्वर्ण र सान्डामा रजत जितिन् । त्यस्तै सान्डामा मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं, चिराग पौडेल तथा रविन्द्र मगरले नेपाललाई १–१ स्वर्ण दिलाए ।
सान्डा स्पर्धामै युक्ता युवा, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं र सागर तामाङले १–१ रजत तथा यज्ञराज घलले कांस्य हात पारे ।
सोमबार स्वदेश फर्किएको च्याम्पियन टोलीलाई नेपाल उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, सचिव सिद्धार्थ लामा, सदस्य सन्जितकुमार राई, खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । च्याम्पियनसिपमा नेपाल उमा कुङफु संघका खेलाडी सहभागी भएका थिए ।

 

Comment