खेलाडी छनोट मंसिर मसान्तसम्म

nsc1
राष्ट्रिय टिम तयारी तथा सहभागिता व्यवस्थापन समितिको बैठकले आसन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न २३ खेलका खेलाडी छनोट मंसिर मसान्तसम्म सम्पन्न गर्ने आइतबार निर्णय गरेको छ ।
समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा विभिन्न २३ खेलका राष्ट्रिय संघका पदाधारीहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले माघ २३ देखि फागुन ४ गतेसम्म भारतमा हुने सागमा सहभागी हुने खेल, खेलाडी, अफिसियललगायतको संख्या निर्धारण गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै पदकको सम्भावना बोकेका खेलका खेलाडीलाई आवश्यकता अनुसार वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने, पुस ९ देखि माघ २० गतेसम्म बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने तथा सागको प्रशिक्षणको जिम्मेवारी पाएका प्रशिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था गर्ने निर्णय गरिएको समितिका सचिव एवं राष्ट्रिय टिम तयारीका निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिए ।
बैठकले १२ औं सागका लागि सदस्य–सचिव विष्टको संयोजकत्वमा १७ सदस्यीय कार्यकारी समिति गठन तथा विभिन्न ४ उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ । चार उपसमितिहरुमा बसोबास व्यवस्थापन, यातायात व्यवस्थापन, खेल पोशाक तथा खेल सामाग्री व्यवस्थापन तथा अनुगमन तथा निरिक्षण उपसमिति रहेका छन् । अनुगमन तथा निरिक्षण उपसमितिको संयोजकमा राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पालेलाई संयोजक तोकिएको छ ।

Comment