ओसिएका प्रशिक्षणमा नेपाल दुई युवा खेलाडी

olympic co2
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले एसियन युथ डेभलप्मेन्ट प्रोजेक्टअन्तर्गत नेपालमा दुई युवा खेलाडी र दुई प्रशिक्षकलाई छात्रबृद्धि दिएको छ । कतारको दोहामा १५ देखि २९ नोभेम्बरसम्म हुने १५ दिने विशेष प्रशिक्षण कार्यक्रममा नेपालका टेबल टेनिस र एथलेटिक्सका खेलाडी र प्रशिक्षकले सहभागीता जनाउन लागेका हुन् । १५ देखि १७ बर्ष उमेर समूहका युवा खेलाडीलाई विगत देखि नै ओसिएले प्रत्येक बर्ष विशेष प्रशिक्षण गराउँदै आएको छ ।
चार सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले शनिवार विदाई गरे ।  टोलीमा टेबल टेनिसतर्फका युवा खेलाडी दिक्षा तामाङ र प्रशिक्षकमा सुनिल कुमार योन्जन छन् भने  एथलेटिक्सको हाइजम्पतर्फकी गायत्री कुमारी चौधरी र प्रशिक्षकमा उषाकुमारी कर्ण चौधरी छन् । अघिल्लो बर्ष नेपालबाट एथलेटिक्स र पौडीका युवा खेलाडी र प्रशिक्षकले  सो प्रोजेक्टअन्तर्गत ट्रेनिङ लिएका थिए । नेपालले सन् २०११ देखि लगातार रुपमा सो प्रोजेक्टअन्तर्गत नेपाली युवा खेलाडी र प्रशिक्षकलाई सहभागीता गराउँदै आएको छ ।
विदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रशिक्षणबाट फर्केपछि खेलाडी तथा प्रशिक्षकलाई रिपोट तयार गरि ओलम्पिक कमिटीलाई बुझाउन आग्रह गरे । श्रेष्ठले भने ‘एसियाली स्तरका युवा खेलाडीहरुसँग धेरै कुरा सिक्ने अवसरका रुपमा रहेको यो ट्रेनिङ हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ । आधुनिक प्रविधिबाट प्रशिक्षण लिने पाउने यस्तो अवसरलाई सदुपयोग गर्नुपर्छ ।’
उनले नेपाल ओलम्पिक कमिटीको नयाँ टिमले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियजगतमा प्रतिस्पर्धी बनाउने विषयमा फोकस गर्ने बताए । उनले विभिन्न देशका ओलम्पिक कमिटीसँग नेपाली खेलाडीलाई बैदेशिक प्रशिक्षण दिलाउने विषयमा कुरा भइरहेको समेत जिकिर गरे । राखेपका पूर्व सदस्यसचिवसमेत रहेका श्रेष्ठले भने, ‘यी युथ खेलाडी नै भोलीको सिनियर खेलाडी हुने हुन् । उनीहरुका लागि यो एउटा महत्वपूर्ण टे«निङ हुनेछ । यस्ता थुप्रै टे«निङ गराउने विषयमा हामी लागिरहेका छौं ।’
विदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष तथा ओलम्पिक कमिटीका सह महासचिव राजीव श्रेष्ठ, नेपाल एथलेटिक्स संघका उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका सदस्य संजिव तुलाधरको उपस्थिति रहेको थियो ।

Comment