बजेटका कारण सातौं रोकिन्न ः मण्डल

mantri poudel1
नवनियुक्त युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले बजेटका कारण सातौं राष्ट्रिय खेलकुद– २०७२  बजेटका कारण नरोकिने बताएका छन् ।राष् ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा त्रिपुरेश्वरमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री मण्डलले भने– ‘बजेटका कारण सातौं राष्ट्रिय खेलकुद रोकिदैन । यो विषयमा म प्रधानमन्त्री र अर्थ मन्त्रीसंग कुरा गर्छु । राष्ट्रिय राजनीतिका कारण रोकियो भने त्यो बेग्लै कुरा हो ।’
राखेप अध्यक्ष समेत रहेका मन्त्री मण्डलले समय सुहाउँदो र नयाँ संविधानको भावना अनुसार ऐन र नियम परिमार्जन गर्दै लैजाने बताउदै खेलकुद राष्ट्रियतासंग जोडिएको क्षेत्र भएको धारणा व्यक्त गरे । अर्को छुट्टै प्रशंगमा मन्त्री मण्डलले देशको अहिलेको अवस्थाले चाँडै निकास पाउने विश्वास समेत व्यक्त गरे ।    राखेप सदस्य–सचिव केशवकुमार विष्टले नवनियुक्त मन्त्रीको कार्यकाललाई सफल बनाउन सिंगो परिषद्ले कुनै कसर बाँकी नराख्ने बताउदै खेलकुदमा अभूतपूर्व परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए ।
सदस्य–सचिव विष्टले बजेटका कारण सातौंको तयारी तय गरिएको तालिका अनुसार हुन नसकेको अवगत गराउदै तिहारपछि परिषद्को बोर्ड बैठकले सातौंको नयाँ मिति तोक्ने बताए । उनले नयाँ मिति तोकेपनि सातौं पूर्वाञ्चलमै हुनेमा जोड दिदै खेलकुदमा बलिया भन्दा बलिया राष्ट्रलाई हराउने ताकत रहेको विचार राखे ।
सो अवसरमा सदस्य–सचिव विष्टले आफ्नो छोटो कार्यकालमा भए÷गरेका कामको संक्षिप्त जानकारी गराएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले खेलकुद समावेशी क्षेत्र भएको बताउदै परिवारकरण र राजनीतिकरण खेलकुदको पुरोनो रोग भएकाले यो पद्धति परिवर्तन गर्न आवश्यक रहेको बताए ।    सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनालले हालसम्म सातौं राष्ट्रिय खेलकुदका सम्बन्धमा भएका प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले परिषद्को बोर्ड दिगो हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमअघि मन्त्री मण्डललाई राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल र सदस्यहरु, कर्मचारी, प्रशिक्षक, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीलगायतले परिषद् हातामा स्वागत गरेका थिए । कार्यक्रमपछि मन्त्री मण्डलले राखेप हाता भित्र रहेका विभिन्न पूर्वाधारको निरीक्षण समेत गरेका थिए ।
असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका मण्डलले कात्तिक १९ गते युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Comment