सातौं सारेर सागको तयारीमा जुट्न सुझाव

keshav
विभिन्न राष्ट्रिय खेलकुद संघले मुलुकलको विभिन्न भागमा जारी बन्द, हड्ताललगायतका प्रतिकुल अवस्थाका कारण पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको घोषित मिति परिवर्तन गरी भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा जुट्नु पर्ने सुझाव राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद पसिरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीहरुसंग भएको छलफलमा अधिकांशले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा सातौं राष्ट्रिय खेलकुद साग पछि आयोजना गर्नु पर्ने, सागको तयारीमा गम्भीर भएर जुट्नु पर्ने, खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाउनु पर्नेलगायतका सुझाव दिएका थिए । केहि संघले सातौं पछि सर्ने हो भने सागमा समावेश विभिन्न खेलको छुट्टै छनोट प्रतियोगिता गर्नु पर्ने सुझाव पनि दिएका थिए ।
सदस्य–सचिव विष्टले एक÷दुई महिना पछि सारे पनि सातौं पूर्वाञ्चलमै गर्नुपर्नेमा जोड दिए ।
‘एक÷दुई महिना पछि सारे पनि सातौं पूर्वाञ्चलमै गर्नुपर्छ । म पूर्वाञ्चलवासी भएर यस्तो भनेको होइन ।’ सदस्य–सचिव विष्टले भने– ‘पूर्वाञ्चलमा पहिलो पटक यो खेलकुद हुँदैछ । मुलुक संघीयतामा गएपछि पूर्वाञ्चलले त्यो अवसर गुमाउन सक्छ ।’
छलफलमा बक्सिङ, सुटिङ, पौडी, जुडो, भलिबल, ह्यान्डबल, बास्केटबल, फुटबल, लनटेनिस, हक्की, कुस्ती, आर्चरी, टेबलटेनिस, स्क्वास, भारोत्तोलन, ट्रयाथलन, ब्याडमिन्टन, खोखो, कबड्डी, एथलेटिक्स, उसुलगायतका संघका अध्यक्ष÷प्रतिनिधिको उपस्थिति थियो ।

Comment