आर्चरी खेलाडीलाई विदाई

archary bidaie
मित्र राष्ट्र थाईल्यान्डको बैंकक सहरमा आयोजना हुने १९ औं एशियन आर्चरी च्याम्पियनसिप तथा एशियन ओलम्पिक कन्टिनेन्टल छनोट प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडी तथा प्रशिक्षकहरुलाई सोमबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले विदाई गरे ।
प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा कृष्णमाया स्याङ्गतान –महिला रिकर्भ), जित मोक्तान, प्रेम पुन र अशिम शेरचन (पुरुष रिकर्भ), किशोर कुमार गुरुङ्ग, लक्ष्मन पुन र विवेक सेन गुरुङ्ग (पुरुष कम्पाउन्ड) रहेका छन् । टिम प्रशिक्षकमा कोरियन प्रशिक्षक लि चुङ्ग उन र व्यवस्थापकमा संघका महासचिव दीपकराज गुरुङ्ग रहेका छन् ।
प्रतियोगिता कार्तिक १५ देखि २३ गते सम्म आयोजना हुने छ । प्रतियोगितामा छनोट हुन सकेमा खेलाडीहरुले ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने रियो ओलम्पिकमा सहभागिता जनाउन पाउने छन् । सो कार्यक्रममा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले २ लाख ७५ हजार प्रदान गरिएको समेत कार्यक्रममा जानकारी गराईयो ।
यस अघि दुई खेलाडी र प्रशिक्षकले थाईल्यान्डमानै कार्तिक ६ देखि १४ सम्म आयोजना हुने एशियन आर्चरी महासंघद्वारा प्रदान गरिने प्रशिक्षण शिविरमा सहभागिता जनाउने छन् । उक्त प्रशिक्षण शिविरमा सहभागि हुने खेलाडीहरुमा जित मोक्तान र कृष्णमाया स्याङ्गतान र प्रशिक्षक लि रहेका छन् ।  खेलाडी तथा प्रशिक्षक कार्तिक ५ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेकोछ ।
खेलाडीहरुलाई विदाई गर्दै उपाध्यक्ष लामाले एशियन आर्चरी महासंघबाट प्राप्त भएको धनु नेपाल आर्चरी संघ मातहत रहने गरि खेलाडीहरुलाई प्रदान गरे ।  कार्यक्रममा संघका राखेपका सदस्य एवं संघका कोषाध्यक्ष शैलेष कर्माचार्य र सचिव रमेश सिवाकोटीको उपस्थिती रहेको थियो ।

Comment