आइस हक्की अध्यक्ष शाही स्वडेनतर्फ

ice hockey1
नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही आइस हक्की खेलको अध्ययनका लागि स्वडेन प्रस्थान गरेका छन् । नेपालमा आइस हक्की खेलका खेलाडी तथा प्राविधिक उत्पादन गर्न र आइसहक्की र इनलाईन हक्कीका लागि आवश्यक न्यूनतम भौतिक पुर्वाधारका विषयमा अध्ययन गर्नका लागि शाही स्वडेनतर्फ शनिवार साँझ प्रस्थान गरेका हुन् । आइस हक्की संघका पदाधिकारीहरुले शनिवार शाहीलाई बिदाइ गरे ।
शाहीले स्वीडिस आइस हक्की संघका  अध्यक्ष चिस्टेर इगुन्डसँग नेपालमा आइस हक्की खेलको विकास र  विस्तारमा स्वीडिस आइस हक्की संघले खेल्न सक्ने भूमिकाको विषयमा छलफल गर्ने छन् । त्यसैगरी शाहीले सो अवसरमा डेनमार्कलगायत अन्य मुलुकका आइस हक्की संघका पदाधिकारीहरु भेट्ने बताएका छन् । नेपाल आइस हक्कीको प्रचुर सम्भावना भएको देशका रुपमा युरोपका देशहरुले लिएकाले नेपालको सम्भावना र चुनौतीको विषयमा अवगत गराउन शाहीले बताए ।
स्वडेनमा आइस हक्की र इनलाइन हक्कीको राम्रो विस्तार भएको  छ । ‘नेपालमा अहिले तत्कालनै आइस हक्की खेलको पूर्वाधार विकास गर्न सकिदैन । तर मित्र राष्ट्रहरुसँग सहकार्य गरेर खेलाडी र प्राविधिक उत्पादन गर्न सकिने देखेर नै हामीले यसको विस्तारका लागि योजना बनाएर अगाडी बढेका हौं ।’ स्वीडेन प्रस्थान गर्नु अघि शाहीले भने, ‘स्वीडेनमा इनलाईन हक्की समेत राम्रो रहेकाले नेपालमा इनलाइन हक्कीको पूर्वाधारको निमार्ण गर्न सकिने भएकाले त्यस विषयमा पनि अध्ययन गर्ने छौं ।’

Comment