प्रवेश र अनिललाई उपाधि

7th body building 1
प्रवेश श्रेष्ठ र अनिलकुमार थापा सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा शनिबार आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भक्तपुरका प्रवेश ८० केजीतौल समूहमा पहिलो भए । सुनसरीका पारस भुजेल दोश्रो भए भने काठमाडौंका नरेश मालाकारले तेश्रो स्थानमा चित्त बुझाए ।
त्यस्तै चितवनका अनिलले ८० केजीमाथि शीर्ष स्थान हासिल गरे ।नुवाकोटका तिलक तामाङ दोश्रो र झापाका तुल श्रेष्ठ तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको ५५ केजीमा काठमाडौंका रवि महर्जन पहिलो, कास्कीका सुरेश गुरुङ दोश्रो र काभ्रेका उमेश बलामी तेश्रो भए । ६० केजीमा ललितपुरका रुजेश शाहीले स्वर्ण, कपिलवस्तुका सन्जिवकुमार श्रेष्ठले रजत तथा मोरङका रमेश कार्कीले कांस्य पदक हात पारे । ६५ केजीमा झापाका रामबहादुर दाहाल पहिलो, काठमाडौंका अनिललाल श्रेष्ठ दोश्रो तथा त्रिभूवनआर्मी क्लबका दीपक ध्वजशाही तेश्रो भए ।
सातौं राष्ट्रिय खेलकुदको पहिलो राष्ट्रिय प्रतियोगिताको ७० केजीमा काभ्रेका रामहरि खनाल पहिलो, भक्तपुरका उज्ज्वलरत्न वज्राचार्य दोश्रो तथा रुपन्देहीका चन्द्रमान श्रेष्ठ तेश्रो भए । ७५ केजीमा काठमाडौंका महेश्वर महर्जन पहिलो, चितवनका नवीनकुमार गुरुङ दोश्रो र दोलखाका सुवर्ण खड्का तेश्रो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ लगायतले पुरस्कृत गरे ।त्यसअघिप्रतियोगिताको युवातथा खेलकुदमन्त्रालयको जिम्मेवारी समेत सम्हाली रहेका उपप्रधानएवं गृह मन्त्री वामदेव गौतमले प्रतियोगिताको उद्घाटन गर्दै सातौं राष्ट्रिय खेलकुद भब्य र सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिएका थिए ।
प्रतियोगितामा विभिन्न २५ जिल्ला र त्रिभूवन आर्मी क्लबका गरी जम्मा ६७ पुरुष खेलाडीले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन शुक्रबार भएको प्रिजजिङ राउन्डको प्रत्येक तौल समूहबाट५–५ खेलाडी फाइनलमा प्रवेश गरेका थिए । अन्तिमदिन शनिबार तिनै खेलाडीबीच उपाधिका लागि भिडन्त भएको हो । प्रत्येक तौलसमूहको उपाधि विजेता मिस्टर नेपाल समेत बनेका छन् ।

Comment