गीत र नारा छनोट

keshavbistaपूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ ।    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
टंक उप्रेतीले तयार पारेको गीत छनोट गरियो । प्राप्त विभिन्न ११ मध्ये ‘पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद, विविधतामा रमाएर बाचौं’ भन्ने नारालाई पारित गरिएको छ ।
बैठकले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी र शारीरिक सुगठनको दुवै प्रतियोगिता सातदोबाटोमा गर्ने निर्णय गरेको छ ।
पौडी असोज २३ देखि २५ तथा शारीरिक सुगठन असोज २२ देखि २३ गतेलाई तोकिएको छ । खेलाडीले पाउने सेवा÷सुविधा खेलाडी आफैले प्रत्यक्ष थाहा पाउन् भन्ने उद्देश्यले त्यस बारे राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुका साथै ७५ वटै जिल्ला खेलकुद विकास समिति तथा पाँचै क्षेत्रीय खेलकुद विकास समितिमा सूचना टाँसिने भएको छ । साथै खेलकुद परिषद्को वेभसाइटमा राखिने छ ।

Comment