बोर्ड पदाधीकारीको स्वागत

loke khel1
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले खेलकुद क्षेत्र सिंगो राष्ट्रको एकतालाई सुदृढ र स्थापित गर्ने क्षेत्र भएको बताएका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेपाली कांग्रेसको तर्फबाट सदस्यमा नियुक्त भएका पदाधिकारीहरुको सम्मानमा कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित स्वागत तथा बधाइज्ञापन कार्यक्रममा महामन्त्री सिटौलाले यस्तो धारणा राखेका हुन् ।
‘खेलकुद क्षेत्र सिंगो राष्ट्रको एकतालाई सुदृढ र स्थापित गर्ने क्षेत्र हो । अन्तर्राष्ट्रिय जगतमा विशेष योगदान दिने खेललाई प्राथमिकतामा राखेर अगाडि बढ्न उपयुक्त हुन्छ ।’ महामन्त्री सिटौलाले भने ।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले लामो समयदेखि नेपाली कांग्रेसले खेलकुद मन्त्रालय नलिएको बताउदै अब बन्ने नयाँ सरकारमा कांग्रेसले खेलकुद मन्त्रालय लिनु पर्नेमा जोड दिए । उनले चाँडै नै सबै जिल्लामा खेलकुद संघ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख एवं सांसद् धनराज गुरुङले खेलकुदलाई अफ््ठ्यारो बरेको बेला आफूलाई सम्झे जुनसुकै समयमा पनि सहयोग गर्ने तयार रहेको बताए ।
नेपाल कांग्रेसको तर्फबाट सुरेन्द्रबहादुर हमाल, शैलेश कर्माचार्य, शान्तिसिंह क्षेत्री, उपेन्द्र यादव र यामकुमारी गुरुङ (अस्मिता) गरी ५ जना परिषद्को बोर्डमा रहेका छन् । हमाल एक वर्षअघि क्याबिनेटबाट परिषद्को सदस्यमा नियुक्त भइ हाल कोषाध्यक्षको जिम्मेवारीमा छन् । बाँकी चार जना असोज ३ गते मन्त्री परिषद् बैठकबाट परिषद्को सदस्यमा नियुक्त भएका थिए ।

Comment