एलए र एसको विजयी सुरुआत

लिटिलएन्जल्स (एलए) कलेज र एसले एलए कप अन्तर्गत दोश्रो संस्करणको छात्र बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेका छन् । हात्तीवनस्थित घरेलु कोर्टमा एलएले द ब्रिटिस कलेजलाई ४४–४२ तथा एसले काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) लाई ४०–२१ ले पराजित गरे ।
अन्य खेलमा सोफ्टवारिकाले कुसोमलाई ५२–४४, इस्लिङटनले कसमसलाई ५८–९ तथा साइटले नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) लाई ३८–२० ले हराए ।
एलए कलेजका प्रिन्सिपल मित्रबन्धु पौडेल र एलए स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले प्रतियोगिताको संयुक्त उद्घाटन गरे । लिगकमनक आउट आधारमा हुने प्रतियोगितामा १३ टिम सहभागी छन् ।
एलए कप अन्तर्गत नै नवौं छात्र फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने एलएका फुटबल प्रशिक्षक राजेन्द्र कार्कीले जनाएका छन् ।
पहिलो हुनेले ३० हजार र दोश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पहिलो दिन हुने एक मात्र खेलमा काष्ठमण्डपले एलए ‘बी’विरुद्ध प्रतिस्पर्धा गर्नेछ । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) डिफेन्डिङ च्याम्पियन हो ।

Comment