प्रथम राष्ट्रब्यापी शारीरिक सुगठन अशोज तेश्रो साता

sibalal1
हिमालयन किङ्गडम नेप्लिज शारीरिक सुगठन तथा फिटनेश महासंघको आयोजनामा अशोज २० गते प्रथम राष्ट्रब्यापी शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएकोछ । प्रतियोगितामा ५५ केजीको फ्लाई वेट, ६० केजीको सुपर फ्लाई वेट, ६५ केजीको वेन्टम वेट, ७० केजीको लाईट वेट, ७५ केजीको वेल्टर वेट र ८० केजी र त्यो भन्दा माथीको लाईट हेभी वेट गरि कुल ६ तौल समूहमा प्रतिस्पर्धा गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
दुई बर्ष अगाडी काठमाण्डौ जिल्ला कार्यालयमा दर्ता भएको हिमालयन किङ्गडमले अन्तराष्ट्रिय ओलम्पिक कमिटि तथा एशियन ओलम्पिक कमिटिबाट मान्यता प्राप्त अन्तराष्ट्रिय शारीरिक सुगठन तथा फिटनेश  तथा एशियन शारीरिक सुगठन तथा फिटनेशसंग आवद्धता प्राप्त गरेको पहिलो मिस्टर नेपाल, महासंघका अध्यक्ष एवं नेपालमा शारीरिक सुगठनका ज्ञाता शिवलाल श्रेष्ठले जानकारी गराए ।
उनले हिमालयन किङ्गडम नेप्लिज शारीरिक सुगठन महासंघको जन्म हुनुको बारेमा जानकारी गराउंदै हाल परिषदमा दर्ता रहेको नेपाल शारीरिक सुगठन तथा फिटनेश संघ विश्व शारीरिक सुगठन महासंघसंग आवद्धता रहेता पनि अन्तराष्ट्रिय ओलम्पिक तथा ओलम्पिकद्वारा आयोजना गरिने प्रतियोगिताका साथै विश्वमा आयोजना भईरहेको ठुला प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्न नसक्ने भएका कारण यो संस्थालाई पुनर्जीवित गर्नु आवश्यक भएको समेत जानकारी गराए । उनले हाल भइरहेको नेपाल शारीरिक सुगठन पनि पहिले यसै संस्था अन्तरगत आवद्ध रहेकोमा एशियन शारीरिक सुगठनलाई डोपिङ्गको कारण अन्तराष्ट्रिय शारीरिक सुगठनले कार्यवाही गरे पश्चात केहि एशियन शारीरिक सुगठनका ब्यक्तिहरुले विश्व शारीरिक सुगठन र एशियन शारीरिक सुगठन गठन गरि भिन्न महासंघको स्थापना गरेको र त्यतीवेलाका नेपाल शारीरिक सुगठनका पदाधीकारीहरुले आफुलाई त्यसै अनुरुप विश्व शारीरिक सुगठनमा आवद्ध गरि कार्यक्रम संचालन गर्दै आईरहेको समेत उनले पत्रकारहरुलाई जानकारी गराए ।
उनले प्रतियोगिताको बारेमा जानकारी प्रदान गर्ने क्रममा यो प्रतियोगिता ओलम्पिक मान्यता प्राप्त अन्तराष्ट्रिय शारीरिक सुगठन महासंघद्वारा नोभेम्बरमा ५ देखि ९ तारिख सम्म स्पेनको एलिकान्टमा आयोजना हुने आईएफबिबी विश्व शारीरिक सुगठन प्रतियोगिताको छनोट र नेपाल शारीरिक सुगठन तथा फिटनेशले अशोज २३ गते आयोजना गर्ने १५ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता तयारीको रुपमा समेत लिएको जानकारी गराए । यसै प्रतियोगिताद्धारा छनोट हुन सफल खेलाडीहरुलाई यसै बर्ष हङ्गकङमा आयोजना हुने हङ्गकङ एम्योच्योर ओलम्पिया शारीरिक सुगठन प्रतियोगिता र भियतनाममा एशियन ओलम्पिक कमिटिद्वारा आयोजना हुने एशियन प्रतियोगिता तथा अन्तराष्ट्रिय शारीरिक सुगठन महासंघले लण्डनमा आयोजना गर्ने अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता गराईने जानकारी गराए ।
एक दिने प्रतियोगिता सोरखुट्टेस्थित लिङक रोड नेवा पार्टिप्यालेसमा आयोजना गरिने र अन्तराष्ट्रिय महासंघको नियम अनुसारनै एकै दिनमा प्रतियोगिता सम्पन्न गरिने महासंघका महासचिव अजय बज्राचार्यले जानकारी गराए । १५ लाखको लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई ट्रफी मेडल, प्रमाण पत्रका साथै नगद पुरस्कारबाट सम्मानित गरिने समेत महासचिव बज्राचार्यले बताए । पत्रकार सम्मेलनमा महासंघका कोषाध्यक्ष रविन्द्र श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

Comment