भारोत्तोलन टोलीको बिदाइ

weight lifting1
थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
पुरुषको ४५ औं संस्करणमा प्रकाश केसी र विकास थापाले ६२ केजी, दिनेश श्रेष्ठले ९४ केजी, गगनसिंह ओलीले १०५ केजी तथा पुकार गुरुङले १०५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा तारादेवी पुनले ७५ केजीमाथि खेल्नेछिन् । महिलाको यो २६ औं संस्करण हो ।
सिनियर स्तरको एसियाली च्याम्पियनसिपमा नेपालले एक मात्र पदक जितेको छ । ३२ वर्षअघि १९८३ मा सिरियाको दमास्कसमा भएको १५ औं संस्करणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वर्तमान कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले कांस्य जितेका थिए ।
प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलनका मुख्य प्रशिक्षक सुनीललाल जोशी र जग्दीश प्रधान रहेका छन् ।
उक्त च्याम्पियनसिप नेपालमै जुलाइ २२ देखि ३० तारिखसम्म हुने निश्चित भएको थियो । गत बैशाखको विनाशकारी भूकम्पका कारण नेपालले आयोजनाको ऐतिहासिक अवसर गुमाउनु परेको थियो । नेपालमा भारोत्तोलनको सिनियर स्तरको एसियाली च्याम्पिनसिप हालसम्म भएको छैन ।
टोलीलाई सफलताको शुभकामना दिदै राखेप सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डनलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । टोली अक्टोबर ४ तारिख थाइल्यान्ड प्रस्थान गर्नेछ ।

Comment