इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता जारी

पोखरा
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको समापन आइतबार हुने भएको छ। सोमबार हुने भनिएको कार्यक्रम विशेष कारणले गर्दा आइतबार दिउँसो दुई बजे गर्ने निर्णय भएको कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुरन कुँवरले जानकारी दिए।
शनिबार लिगचरणका ५० वटा खेल सम्पन्न भएका छन्। जसअनुसार टप्स उमाविका मेनुका गुरुङ र समीक्षा गुरुङको जोडी तथा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका अञ्जली भण्डारी र सविना आचार्यको जोडी सिनियर छात्रा डबलतर्फको फाइनलमा प्रवेश गरेको छ।
पहिलो सेमिफाइनल खेलमा टप्स उमाविका मेनुका गुरुङ र समीक्षा गुरुङको जोडीले सिद्धार्थ बोर्डिङ स्कुलका प्रतिभा केसी र प्रेक्षा केसीलाई २१–१४ र २१–९ ले तथा दोस्रो खेलमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका अञ्जली भण्डारी र सविना आचार्यको जोडीले टप्स उमाविका आकृति केसी र प्रतिज्ञा गुरुङको जोडीलाई २१–१८ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो।
यस्तै टप्स उमाविका मेनुका गुरुङ, सेन्ट फ्रान्सिसका रोजी गुरुङ, टप्स उमाविका प्रजिता गुरुङ र टप्सकै आकृति केसी सिनियर छात्रा एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटरफाइनलमा टप्सका मेनुको माउण्ट एभरेष्टका अञ्जली भण्डारीलाई २१–९ र २१–९, दोस्रो खेलमा सेन्ट फ्रान्सिसका रोजीले टप्सका समीक्षा गुरुङलाई, तेस्रो खेलमा टप्सका प्रजिताले सिद्धार्थका प्रतिभा केसीलाई २१–१६, १४–२१ र २१–१८ ले, चौथो खेलमा टप्सकै आकृतिले सिद्धार्थकै आरती रानालाई २१–९ र २१–१४ ले पराजित गरेका थिए।
यस्तै टप्स उमाविका प्रजिता गुरुङ र टप्सकै समीक्षा गुरुङ यु–१२ छात्रा एकलतर्फको फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा टप्सका प्रजिताले सिद्धार्थका प्रेक्षा केसीलाई २१–१३ र २१–१९ तथा दोस्रो खेलमा टप्सका समीक्षाले टप्सकै एलिशा बलाल थापालाई २१–११ र २२–२० को सोझो सेटमा पराजित गरेका थिए।
कुमुदिनी होम्सका धीरज श्रेष्ठ, सैनिक आवासीय महाविद्यालयका विशेष बस्नेत, सैनिककै पवन गुरुङ र प्रगति बोर्डिङ स्कुलका ओलिभर गुरुङ यु–१२ छात्र एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन्। पहिलो क्वाटरमा कुमुदिनीमा धीरजले सैनिकका आयुश कुँवरलाई २१–१५ र २१–११, दोस्रो खेलमा सैनिकका विशेष बस्नेतले सेन्ट फ्रान्सिसका निकेश गुरुङलाई २१–१२, २१–१०, तेस्रो खेलमा सैनिककै पवन गुरुङले कुमुदिनीका उत्सव कार्कीलाई २१–८, २१–१३ तथा चौथो खेलमा प्रगतिका ओलिभर गुरुङले पोखरा एकेडेमीका सशांक गुरुङलाई २१–१९ र २१–१६ को सोझो सेटमा पराजित गरेका थिए।
सिनियर छात्र एकलतर्फ प्रगतिका सुलभ बस्नेत, पोखरा एकेडेमीका मन्दीश बस्नेत, सैनिकका विशाल कुमाल, प्रगतिका विधान अधिकारी, प्रगतिकै ओम थापा, पोखरा एकेडेमीका सशांक गुरुङ, एकता बोर्डिङ स्कुलका गोपाल थापामगर र सैनिकका सुदीप भण्डारी क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
यसैगरी प्रगतिका सुलभ बस्नेत र धीरेन विक, कुमुदिनीका धीरज श्रेष्ठ र आयुशकाजी श्रेष्ठ, प्रगतिका विधान अधिकारी र निकेश खड्का तथा सैनिकका ओम थापा र सुदीप भण्डारीको जोडी सिनियर छात्र डबलतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो क्वाटरमा प्रगतिका सुलभ र धीरेनके जोडीले पोखरा एकेडेमीका मन्दीश बस्नेत र सशांक गुरुङलाई २१–१३, २१–१६, दोस्रो खेलमा कुमुदिनीका धीरज र आयुशकाजीले प्रगतिका साकार अधिकारी र शीर्षक अधिकारीलाई २१–१६, २१–११, तेस्रो खेलमा प्रगतिका विधान र निकेशले सिद्धार्थका सिद्धार्थराज कार्की र अंकित गुरुङलाई २१–७, २१–६ तथा चौथो खेलमा सैनिकका ओम र सुदीपले सेन्ट फ्रान्सिसका मिलन गुरुङ र विराज श्रेष्ठलाई २१–६ र २१–१२ को सोझो सेटमा पराजित गरेका थिए।
प्रतियोगितामा दुई सरकारी, तीन अर्धसरकारी र १२ बोर्डिङ स्कुल गरी १७ विद्यालयका एक सय २३ जना विद्यार्थीको सभागिता रहेको छ। दुई सय २१ खेल हुने सो प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), यु–१२ छात्र एकल, र यु–१२ छात्र एकलतर्फ सहभागी छन्।
आइतबार सिनियर छात्र एकलका क्वाटरफाइनल तथा अन्य समूहका सेमि तथा फाइनल खेल हुने कास्की जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष एवं खेल सञ्चालन उपसमितिका संयोजक नरबहादुर गुरुङले जानकारी दिए।

 

Comment