बडाल खुट्टा भाँच्चिएर अस्पताल भर्ना

rugby player
रग्वीका राष्ट्रिय खेलाडी उज्ज्वल बडाल विपक्षी खेलाडीसँग ठोक्किँदा दायाँ खट्टा भाँच्चिएर अस्पतालमा भर्ना भएका छन् । साँगाको पुलिस विद्यालयको खेलमैदानमा प्रशिक्षणको दौरान भएको खेलका क्रममा दिव्य श्रेष्ठसँग ठोक्किँदा उनी घाइते भएका हुन् । उनी विगत एक वर्षदेखि राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् । भारतको चेन्नईमा भएको प्रि–ओलम्पिक क्वालिफाइङ र दिल्लीमै भएको हुरिक्यानसँगको मैत्रीपूर्ण खेलमा उनी टोलीको महत्वपूर्ण सदस्य थिए । राष्ट्रिय खेल तयारी गरिरहँदा यस्तो भएको हो ।
अस्पताल भर्ना भएका बडालले दुई वर्षसम्म आराम गर्नुपर्नेछ । जोरपाटिस्थित अर्थोपेडिक अस्पतालमा उपचार गराइरहेका बडालको दाहिने खुट्टाको हड्डी भाँचिएकाले उनको खुट्टामा रड लगाइएको छ । उनी पूर्ण रूपमा फिट भई रड निकाल्न दुई वर्ष लाग्ने अस्पतालका चिकित्सक डा.युवराज खरेल बताउँछन्
। हालसम्म उपचार खर्च आफन्तबाट बेहोरिरहेको जानकारी दिँदै बडाल भन्छन्, ‘तीन दिनमा ७० हजार खर्च भइसकेको छ । यतिका दिन अस्पताल बस्दा कति खर्च लाग्ने हो थाहा छैन ।’ हालसम्म कतैबाट पनि सहयोग नभएको गुनासो पनि उनको रह्यो । बडाल घाइते भएपछि रग्वी प्रशिक्षक गोविन्दले भर्ना गरिदिएका हुन् । त्यसपछि संघका अध्यक्ष टंकलाल घिसिङले पनि स्वास्थ्यस्थिति जानकारी लिँदै सहयोग गर्ने आश्वासन दिएका छन् ।
खेलकुदको राष्ट्रिय स्तरका निकाय उनलाई सहयोग गर्ने चासो देखाएका छैनन् । रग्वी प्रशिक्षक गोविन्द भन्छन्, ‘उनको लागि हामीले केही गर्ने प्रयास गरिरहेका छौँ ।’ यसअघि युवा तथा खेलकुद मन्त्री उनको स्वास्थ्यस्थितिबारे बुझ्न गएका थिए । बडाल भन्छन्, ‘खुट्टा ठीक भयो भने खेल्नेछु, नत्र अन्य कुनै माध्यमबाट खेल क्षेत्रमा सहयोग गर्नेछु ।’

Comment