खेलकुदमा बजेट बृद्धी सन्तोषजनक

सरकारले आर्थिक वर्ष २०७२÷०७३ का लागि खेलकुदको क्षेत्रलाई २ अर्ब सात करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. रामशरण महतले मंगलबार व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक बजेटमा खेलकुदलाई २ अर्ब सात करोड बजेट विनियोजन गरेको हो । पछिल्लो समय सबैभन्द चर्चामा रहेको र धेरैको चासो रहेको नेपाली क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै क्रिकेटको भौतिक पूर्वाधार निर्माण तथा मर्मतका लागि ३१ करोड बजेट छुट्याएको छ ।
अर्थमन्त्री महतले बजेट भाषण गर्दै सो बजेटमध्ये ११ करोड रुपैयाँ काठमाडौंको मूलपानीमा निर्माणधिन क्रिकेट स्टेडियमका लागि तथा क्रिकेटमा प्राप्त उपलब्धि र नेपालमा क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै धनगढीसहित देशका मुख्य सहरमा क्रिकेट मैदन निर्माणका लागि २१ करोड रुपैयाँ छुट्याएको अर्थमन्त्रीले उल्लेख गरेका छन् । साथै उनले नेपालमा हुने आगामी प्रतियोगिता सञ्चालन गर्न सकिने गरी कीर्तिपुर र पुल्चोकस्थित क्रिकेट मैदानलाई स्तरोन्नतिका लागि पनि बजेट छुट्याइएको बताए ।
काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्डहल निमार्ण गर्ने कार्यलाई पनि प्राथमिकतामा राख्दै सरकारले गत वैशाख १२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला पुनर्निमाणका लागि १३ करोड बजेट विनियोजन गरिएको छ । फुटबल मैदानको अभावले राष्ट्रिय लिग नै प्रभावित हुने भएपछि सरकारले विकल्पको रूपमा ललितपुर च्यासलको एन्फा टेक्निकल सेन्टरलाई निमार्णका लागि सरकारले रकम विनियोजन गरेको छ । सरकारले सागमा स्तरीय प्रदर्शन गर्न बजेट विनियोजन गरिएको बताएको छ । यस्तै, सरकारले अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिँदै खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्रअन्तर्गत एक खेल मैदान निर्माण गर्ने कार्यलाई पनि निरन्तरता दिइएको छ ।
खेलकुदमा विकेन्द्रीकरणको नीतिअन्तर्गत ४ हजार सामुदायिक विद्यालयमा खेल सामग्री उपलब्ध गराइनेछ । नेपालका खेल अधिकारीले यो रकम सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले भूकम्पका कारण देश समस्यामा परेको समयमा पनि खेलकुदमा दिइएको प्राथमिकता सकरात्मक पाटो भएको बताएका छन् । ‘बजेट कति छुट्याइयो भन्ने मात्र नभई यसलाई कसरी उपयोग गर्ने भन्ने प्रमुख कुरा हो,’ सदस्यसचिव विष्टले भने–सदस्य सचिवविष्टले खेलाडीको बिमाको व्यवस्था हुनु महत्वपूर्ण भएको बताएका छन् । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले बजेटमा भएको वृद्धि सन्तोषजनक भए पनि बिग्रिएको सम्पूर्ण पूर्वाधार निमार्णका लागि अपर्याप्त भएको प्रतिक्रिया दिएका छन् । तेक्वान्दो स्टार संगिना वैद्यले देशमा भएको विपत्तिका बाबजुद खेलकुदमा बजेट वृद्धि हुनु सकरात्मक भएको टिप्पणी गरेकी छिन् । तथापि, उनी पनि राष्ट्रिय खेलकुद, साग तयारी र विभिन्न पूर्वाधारको समस्याका कारण बजेट अझ बढी भएको भए राम्रो हुने बताउँछिन् ।

 

Comment