बास्केटबलमा नेपाल तेस्रो

 

भारतको बैंग्लोरमा सम्पन्न चौथो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताअन्तर्गत अन्तिम दिन आइतबार श्रीलंकासँग पराजित भएपछि नेपालले तेस्रो स्थान हात पारेको हो । नेपाल अघिल्लो वर्ष काठमाडौंमा भएको च्याम्पियनसिपमा चौथो भएको थियो । तेस्रो स्थान हात पार्ने क्रममा नेपालले ५ खेलमा ३ हार र २ जित निकालेको थियो ।
पहिलो खेलमा भारतसँग पराजित नेपालले त्यसपछि भुटान र बंगलादेशलाई पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्ससँग पराजित नेपाल अन्तिम खेलमा पनि श्रीलंकासँग पराजित भयो । कन्टेरेभा इन्डोर हलमा आइतबार भएको अन्तिम खेलमा नेपाल श्रीलंकाविरुद्ध ७६–६८ स्कोरले पराजित भयो । आयुष सिंहले १३ तथा विक्रम जोसी र कप्तान सदिश प्रधानले समान १२–१२ स्कोर जोडे पनि नेपालको हार टार्न सकेनन् ।
पहिलो क्वाटरमा १८–२३ ले अग्रता बनाए पनि त्यसपछिको क्वाटरमा लगातार पछि पर्दा नेपाल पराजित भएको हो, श्रीलंकाविरुद्ध नेपाल दोस्रो क्वाटरमा १८–१७, तेस्रोमा २२–१५ र चौथो क्वाटरमा १६–१४ स्कोरले पछि परेको थियो । प्रतियोगितामा विजेता भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स रहेका थिए ।
प्रतियोगिताका लागि नेपाली टोली सदिश प्रधानको कप्तानीमा भारत गएको थियो, टोलीमा राजीव महर्जन, विनोद श्रेष्ठ, सञ्जय व्यञ्जनकार, विनोद महर्जन, युक्तरामभक्त माथेमा, आयुष सिंह, विजय पुर्जा, विक्रम जोशी, असिम श्रेष्ठ, सुब्रोत राजोपाध्याय र अजय कुसुवा छन् । प्रशिक्षकमा दिनेशचन्द्र नकर्मी र रवीन्द्र मर्हजन छन् । टिम म्यानेजरमा विकास शाही छन् ।

Comment