लनटेनिसमा प्रीति पराजित

preeti baral1
नेपालकी प्रीति बराल २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् ।    दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासंग ६–० र ६–० को सोझो सेटमा पराजित भइन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकिन् । आर्चरीको व्यक्तिगत पुरुष रिर्कभको ¥याङकिङ राउन्डको ७० मिटर दूरीमा नेपालका प्रकाश गुरुङले ७ सय २० पूर्णाङकमा ५ सय ३२ अंक जोडे ।
सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले ७ सय २० अंकमा ४ सय ८४ को प्रदर्शन गरिन् । अब इलिमिनेसन राउन्डमा आइतबार प्रकाशले मंगोलिया तथा कृष्णाले स्लोभाकियाका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै फेन्सिङको महिला इपी स्पर्धामा नेपालकी राखी शर्मा पनि पराजित भइन् । पुरुषमा नेपालका सन्जिप लामाले फोइल स्पर्धामा सोमबार खेल्ने छन् ।     यसअघि प्रतियोगिताको दक्षिण कोरियाकी राष्ट्रपति पार्क गिन हेले ग्वाङजु वल्र्ड कप स्टेडियममा आयोजित एक भब्य कार्यक्रमबीच उद्घाटन गरिन् ।
उद्घाटन समारोहको मार्च पास्टमा तेक्वान्दो खेलाडी निशा रावलले नेपालको झण्डा बोकेकी थिइन् । मार्च पास्टमा नेपाल भन्दा अगाडि नामिबिया र पछाडि नेडरल्यान्डको टोली थियो ।
प्रतियोगितामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १ हजार ३ सय खेलाडी सहभागी छन् । युनिभर्सियाडको इतिहासमा राष्ट्र र खेलाडी सहभागीको संख्या अहिलेसम्मकै उच्च हो ।
नेपालले विभिन्न ७ खेलमा १९ खेलाडीलाई सहभागी गराएको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । नेपालले लनटेनिस, आर्चरी, फेन्सिङसहित टेबलटेनिस, तेक्वान्दो, पौडी र ब्याडमिन्टनमा खेलाडी सहभागी गराएको टोली नेता एवं विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले जनाएका छन् ।
सबैभन्दा कम लनटेनिसमा १, आर्चरी, फेन्सिङ, ब्याडमिन्टन र पौडीमा २–२, टेबलटेनिसमा सबै भन्दा बढी ७ तथा तेक्वान्दोमा ३ गरी १९ खेलाडी सहभागी छन् ।     उद्घाटन अघि ग्वाङजु खेल ग्राममा आयोजक कमिटीले विभिन्न राष्ट्रको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा आयोजक कमिटीका पदाधिकारी र सम्बन्धित सहभागी राष्ट्रका प्रतिनिधिबीच मायाको चिना साटासाट गरिएको थियो । त्यस्तै नेपाललगायत विभिन्न राष्ट्रको झण्डोतोलन गरिएको थियो । प्रतियोगिता जुलाई १४ तारिखसम्म चल्नेछ ।

Comment