ओलम्पिक डे मनाइयो

olympic day run
‘विपद्विरुद्ध हामी लड्न सक्छौं’ भन्ने नाराका साथ मंगलबार नेपालमा ओलम्पिक डे मनाइएको छ । नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको स्पोट्र्स फर अल कमिसनको आयोजनामा नेपालमा १३ जुनदेखि ओलम्पिक डे मनाउन शुरु गरिएको थियो । मोर्डन ओलम्पिक गेम्स जन्म भएको सम्झनामा २३ जुनलाई विश्वभरिका २ सय ५ राष्ट्रले ओलम्पिक डेका रुपमा मनाउँछन् । सन् १८९४ को २३ जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) विधिवत रुपमा स्थापना भएको थियो ।
लगनखेलस्थित नेपाल आर्मी स्पोट्र्स एन्ड फिजिकल टे«निङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमिको उपस्थितिमा ओलम्पिक डे मनाइएको हो । नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, साँस्कृति र शैक्षिक गतिविधिसहित ३२ वटा कार्यक्रम गरि ओलम्पिक डे मनाएको कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले बताए ।
मंगलबार भएको ओलम्पिक डेको विशेष कार्यक्रममा नेपालका ओलम्पियनहरु जितबहादुर केसी, संगिना बैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फुलमाया क्यापाछाकी, पुष्पराज ओझा, प्रविन तुलाधर, टिकाराम श्रेष्ठले ओलम्पिक टर्च लिएर मार्चपास गरेका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले नेपालमा गत बर्षदेखि ११ दिनसम्म विविध कार्यक्रम गरेर ओलम्पिक डे मनाइरहेको बताए ।
‘कुनै पनि भेदभावविना खेलकुदमा सहभागीता बृद्धि गर्ने र खेलाडीको स्तरबृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको हो,’ प्रधानले भने । उनले ओलम्पिकको मर्म र भावनालाई आत्मसाथ गरेर अगाडी बढे नेपालले भूकम्पको घाउलाई समेत छिटो निको पार्न सकिने बताए ।
नेपालका लागि जापानी राजदुत मासाइ ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए । उनले नेपाल विविध धर्म र जातजाती रहेको देश भएकाले खेलकुदले मात्र एकजुट बनाउन सक्ने बताए । नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिदै नेपाललाई भिसा प्रक्रिया सहज रहेको समेत बताइन् । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ र स्पोट्र्स फर अल कमिसनका चियरम्यान विष्णुगोपाल श्रेष्ठले ओलम्पिकको भावना र मर्मबारे प्रकाश पारेका थिए ।
सो अवसरमा ओलम्पिक संग्रालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।  त्यसैगरि मार्चपासमा सहभागी ९ जना ओलम्पियनलाई सम्मान गरिएको थियो । चर्चित गायीका कुन्ति मोक्तान, गायक सत्यराज आचार्य, रोज मोक्तानले आ आफ्नो प्रस्तुती दिएका थिए । त्यैगरि नाइटिङगेल स्कुल, अखण्ड विद्यासदनका विद्यार्थीहरुले नाच प्रस्तुत गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्यसचिव सकुन्तला नगरकोटी नेपाली आर्मीका रथी, राजेन्द्र श्रेत्री, उपरथी राजेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

Comment