केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

rastra pati runnign sgield
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्ने सातौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता  सुरु भएको छ ।
प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सचिव एवं राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जानकारी गराए । प्रतियोगिता पहिलोपटक मोफसलमा भएको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो ।
गत बेशाखको शक्तिशाली भूकम्प र लगातारको पराकम्पनका कारण दुईपटक प्रतियोगिताको मिति स्थागित भएको थियो । यसअघि बैशाख २७ देखि २९ तथा जेठ २४ देखि २६ गतेसम्म प्रतियोगिता काठमाडौंमा हुने भनिएको थियो ।
एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा ६–६ गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पाँच विकास क्षेत्रबाट जम्मा ३ सय ६० खेलाडीको सहभागिता रहनेछ ।
टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यसमा एथलेटिक्स र भलिबलको पदकलाई मात्र निश्चित अंक दिइ टिम च्याम्पियनको घोषणा गरिनेछ ।
पाँचै खेलको व्यक्तिगत स्पर्धामा पहिलो हुनेले ३ हजार, दोश्रोले २ हजार र तेश्रोले १ हजार नगद पुरस्कार हात पार्नेछन् । त्यस्तै समूहगतमा पहिलोले १ हजार ५ सय, दोश्रोले १ हजार र तेश्रोले ५ सय नगद पुरस्कार जित्नेछन् । कुल नगद पुरस्कार राशी ४ लाख १४ हजार रुपैयाँ रहेको छ । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भंग गर्ने खेलाडी १० हजार नगद पुरस्कारको हक्दार बन्नेछ ।
पाँच विकास क्षेत्रको प्रत्येक क्षेत्रबाट एक सर्वोत्कृष्ट र एक उत्कृष्ट विद्यालय छनोट गरी नगद पुरस्कार समेत प्रदान गरिने घिमिरेले जानकारी दिएका छन् । सर्वोत्कृष्टलाई ३ लाख र उत्कृष्ट विद्यालयलाई २ लाख नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

Comment