नगरकोटीलाई सदस्य–सचिवको जिम्मेवारी

sakuntala

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य शकुन्तला नगरकोटीलाई सोमबार राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको छ । मन्त्रालयको यो निर्णयसंगै नगकारेटी नेपालकी पहिलो महिला राखेप सदस्य सचिव बन्न सफल भएकी छिन् ।
‘राखेपको तत्काल दैनिक कार्य सञ्चालन गर्न आवश्यक भएकोले तपाईलाई अर्को व्यवस्था नभएसम्मका लागि राखेपको सदस्य–सचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको व्यहोरा नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७२÷२÷३२ को निर्णयानुसार अनुरोध छ । खेलकुद विकास ऐन, २०४८ तथा नियम, २०४९ बमोजिम परिषद्को दैनिक कार्य (आर्थिकसमेत) सञ्चालन गर्न हुन निर्णयानुसार अनुरोध छ ।’– खेलकुद मन्त्रालयका सह–सचिव शशिशेखर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
२०२१ सालमा राखेप स्थापना भएएता कुनैपनि महिलाले सदस्य–सचिवको पूर्ण जिम्मेवारी पाएको यो पहिलो अवसर हो ।
नगरकोटीले सोमबारै त्रिपुरेश्वरस्थित कार्यकक्षमा पदभार सम्हालिन् । नगरकोटी गत वर्षको जेठ २९ गते लामा टेन्डी शेर्पा (हाल राखेप उपाध्यक्ष) र सुरेन्द्रबहादुर हमाल (हाल सदस्य¬) संगै क्याबिनेटबाट सदस्यमा नियुक्त भएकी थिइन् । नगरकोटी नेकपा एमालेको कोटामा सदस्यमा नियुक्त भएकी हुन् ।
२०३१ सालमा कञ्चनपुरको पुनर्वासमा जेन्मेकी नगरकोटीले कबड्डी र भलिबलको राष्ट्रिय प्रतियोगितामा खेलाडीका रुपमा सहभागिता जनाइसकेकी छन् । २०६३ देखि ६६ सम्म डेडेल्धुरा जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष रहेकी नगरकोटी २०६४ देखि हालसम्म डडेल्धुरा जिल्ला भलिबल संघकी अध्यक्ष छिन् । नगरकोटी नेपाल खेलकुद महासंघ केन्द्रीय सचिवालयकी सदस्य एवं डडेल्धुरा जिल्ली पार्टीकी उपसचिव हुन् ।
पदवहालीअघि राखेप हातामा आयोजित स्वागत कार्यक्रममा नगरकोटीले दैनिक काम काज सुचारु गर्न आफूलाई जिम्मेवारी दिइएको बताउदै खेलकुदको विकासका निम्ति सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरिन् । नगरकोटीलेसमयानुकुल खेलकुदको नीति र नियम परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिइन् ।
राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पाले विगत १ वर्षदेखि खेलकुदमा छाएको अन्धकारलाई वर्तमान टिमले चिर्ने बताउदै भूकम्पले खेलकुदका पूर्वाधारमा पु¥याएको क्षतिको पुनर्निर्माणमा वर्तमान टिमलेध्यान केन्द्रीत गर्ने बताए ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले सदस्य–सचिवको जिम्मेवारी पाएकोमा नगरकोटीलाई बधाइ दिदै पदमा रहुन्जेल संस्थाको प्रगतिका लागि काम गर्ने विश्वास व्यक्त गरे ।
चार वर्षे कार्यकाल पूरा गरी सदस्य–सचिव पदबाटयुवराज लामाले जेठ २८ गते औपचारिक बिदाइ लिएपछि उक्त पद रिक्त थियो ।

Comment