केसीको सामाजिक भावना

काठमाडौं । फुटबल स्टार रोजित केसीले सर्लाहीमा कष्टकर जीवन यापन गरिरहेका असहाय दलित बालकहरूका लागि घर निर्माण गरेर हस्तान्तरण गरेका छन् ।
सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले आमा–बाबुको अभिभावकत्वबाट विमुख भएको स्थानीय मिजार परिवारका पाँच दाजुभाइ–दिदीबहिनीका लागि ईश्वरपुरमा घर बनाइदिएका हुन् ।
बुवा जेलमा तथा आमा अर्कै पुरुषसँग बिहे गरेर गएपछि असहाय बनेका उनीहरू वृद्ध हजुरआमाको सहारामा कष्टकर जीवन यापन गरिरहेका थिए । मिजार परिवारको दुरावस्थाबाट भावुक भएर घर निर्माण गरिदिएका केसीले समाजसेवी शर्मिला थापाको हातबाट बालबालिकालाई घर हस्तान्तरण गराएका छन् ।

बुधवार घर हस्तान्तरण कार्यक्रममा मिजार बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा, पालनपोषणलगायतको व्यवस्थापनमा पनि साथ दिने केसी, समाजसेवी थापा र उपस्थित अन्य व्यक्तिहरूले प्रतिबद्धता जनाएका थिए ।
अखिल नेपाल फुटबल सङ्घद्वारा सञ्चालित एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन केसीले यु–१७ देखि यु–२३ उमेर समूहसम्म सबै राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरे । घरेलु फुटबलमा अधिकांश समय जावलाखेल यूथ क्लबबाट खेलेका उनी एउटा प्रतिभावान् मिड्फिल्डरका रूपमा परिचित थिए ।
