हस्तक्षेपका कारण नेपाली फुटबललाई अन्तर्राष्ट्रिय निकायको चेतावनी

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले शनिवार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुनः सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् । निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी छ ।
‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुनः सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ पत्रमा भनिएको छ ।
राखेपको निलम्बनले एन्फालाई आफ्नो मामिलामा स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोकेको समेत उक्त पत्रमा उल्लेख छ । फिफाबाट निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने, फिफा, एएफसी विकास कोषमा पहुँच र अन्य सदस्य सङ्घहरूलाई एन्फासँग खेलकुद सम्पर्क कायम राख्न निषेध गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १२ गते एन्फालाई ३ महिनासम्मका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फाले नेतृत्वले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो ।सो निलम्बनलाई अनावश्यक हस्तक्षेप ठहर गरिएको छ ।
