फिफासँगको छलफल पछि निर्वाचन स्थगित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलन गर्दै फिफा र एएफसीसँग छलफलपछि निर्वाचन स्थगित गरेको बताएको छ ।
एन्फाले शुक्रवारका लागि तय गरेको अर्ली इलेक्सन बिहीबार स्थगित गरेको थियो । निर्वाचन स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई निलम्बन गरेपछि फिफा र एएफसीसँग छलफलपछि एन्फा निर्वाचन स्थगित गरिएको बताए ।
‘निर्वाचनका लागि एएफसी र फिफा प्रतिनिधिहरू आउनुभएको थियो । राखेपले नै निलम्बन गरेपछि प्रतिनिधिहरूसँग छलफल निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो’ राईले भने ।
‘हामीले नटेरेको होइन । हामी नेपाली फुटबलको राम्रो नै चाहन्छौँ, त्यसका लागि लामो समयदेखि मेहनत गर्दै आएका हौँ । हामी फिफाको निलम्बनमा नपर्नका लागि नै निर्वाचन गर्न खोजेका थियौँ’ राईले भने ।
‘नेपाली फुटबलमा अब भ्याक्युमको अवस्था छ । अब यो भ्याक्युम कायम राख्न नहुने र अब नेपाली फुटबलको निकासका लागि जिम्मा लिनुपर्ने राईले बताए ।
एसियन कप छनोट अन्तर्गत लाओससँग हुने खेलको विषयमा पनि राखेपले जिम्मा गर्नुपर्ने राईले बताए । ‘एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग खेल्न जान राखेपसँग स्वीकृति लिन चैत ८ गते नै पत्र पठाएका थियौँ । हामीले निलम्बन अघि नै स्वीकृतिका लागि पत्र पठाएका थियौँ र लाओससँगको खेलका लागि नेपाली टिम पठाउनुपर्छ भन्ने हामी चाहन्छौँ ।’
राईले आफूहरू अराजक नभएको बताए । ‘हामी अराजक होइनौँ, नेपालको कानुन मान्छौँ, राज्यसँग हामीले झगडा गर्नुपर्ने विषय नै छैन’ राईले भने ।
राईले ए डिभिजन लिग हुन नदिनका लागि डिजाइन नै भएको आरोप समेत लगाएका छन् ।
४ वर्ष अघि पकज विक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भए पछि लगातार अवरोध सृजना गरिएको थियो । यसरी नियमित काम गर्नमा अवरोध गर्नेमा पूर्व अध्यक्ष गणे थापा र कर्मा छिरिङ शेर्पा निकट रहेका थिए ।
साधारण सभा तथा धन्यवाद वितरण नाम दिइएको शुक्रवारको कार्यक्रममा एन्फाका २ तिहाइ सदस्यको उपस्थिति थियो ।
