बेसबल तथा सफ्टबल सङ्घको साधारण सभा सम्पन्न

नेपाल बेसबल तथा सफ्टबल सङ्घको चौथो साधारण सभा शनिवार सम्पन्न भयो । साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले बेसबल खेलको विकासमा आफ्नो सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बेसबल खेल नेपालको ओलम्पिक मुभमेन्टमा सहभागी हुन सफल भएकोमा खुसी व्यक्त गरे ।
उद्घाटन अवसरमा नेपाल अल्पाइन स्पोर्ट्स महा सङ्घका अध्यक्ष गोविन्द भट्टराई तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य अञ्जन धमला लगायतले शुभकामना दिएका थिए ।
साधारण सभाले अध्यक्ष दीपक न्यौपानेले प्रस्तुत गरेको प्रगति विवरण तथा कोशाध्यक्ष उपेन्द्र विक्रम लामाले पेस गरेको आर्थिक प्रतिवेदन पास गरेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव प्रदीप शाहले गरेका थिए । साधारण सभामा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला सङ्घका प्रतिनिधिहरूको उपस्थिति थियो ।
