एपिएफ शीर्ष स्थानमा

काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार चौथो जित हात पारेको छ । बुधवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मच्छिन्द्रले लगातार जित निकालेको हो ।
मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ३० औँ मिनेटमा, जोनाथन जोरिल्लाले ६५ औँ मिनेटमा र अलिजोन अलिजोनोभले खेलको ६९ औँ मिनेटमा गोल गरेका थिए ।
चित्लाङका तर्फबाट विज्ञान खड्काले खेलको ७० औँ मिनेटमा गरेका थिए । त्यसअघि बुधवार नै भएको पहिलो खेलमा जावलाखेल यूथ क्लबलाई पराजित गर्दै एपीएफ क्लब शीर्षस्थानमा उक्लिन सफल भयो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा समीरराज थोकरले २ गोल गरे भने जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल फर्काएका थिए । एन्फाको आयोजनामा जारी लिगमा १७ टिमको सहभागिता रहेको छ ।
