पोखरामा अन्तर्राष्ट्रिय मुवाथाई फाइट सिरिज ३ सम्पन्न: सुस्मिता थापाले जितिन् मुख्य इभेन्ट

Manoj Shiama
29 December, 2025 9:12 pm

 साक यान्त मुवाथाईको आयोजना अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज ३’ पोखरामा सम्पन्न भयो। मुख्य इभेन्टमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर ले भारतकी सरिता राठोर लाई हराउँदै नगद ८० हजार रुपैयाँ जितेकी छन्। यो उनको एक वर्षमा नवौँ उपाधि हो। सुस्मिता तेक्वान्दोकी खेलाडी समेत रहेकी छन् र यस वर्षमा ९ वटा प्रोफेसनल फाइट जितिसकेकी छन् ।

एमएमएको मुख्य इभेन्टमा जेनित शेरचन विजयी भए । प्रतियोगितामा ३ राष्ट्रका ४८ फाइटर सहभागी थिए । भारतका ८ शहरबाट ११ फाइटर, श्रीलङ्काबाट १ फाइटर र बाँकी सबै नेपाली थिए ।

प्रतियोगितामा ५,००० भन्दा बढी दर्शक उपस्थित थिए । विश्व स्तरीय र अन्तर्राष्ट्रिय मापदण्डको सेट अप (स्टेज, एलइडी स्क्रिन, लाइट, साउन्ड) सहित चलेको प्रतियोगिता बिहान २ बजेदेखि राति १० बजेसम्म सम्पन्न भयो। यसमा २४ वटा मुवाथाई र एमएमए फाइट भएको थियो ।

साक यान्त मुवाथाईका संयोजक खगेन्द्र क्षेत्री ले प्रतियोगिता सफल भएको र मुवाथाई खेलमा नयाँपन थपिएको बताए । साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै सहयोगी, प्रदेश खेलकुद कार्यालय, महानगरपालिका र अन्य सरोकारवालालाई धन्यवाद दिइएको छ ।