कास्की वर्ष खेलाडीबाट ब्याडमिन्टनकी पुनम गुरुङ लगायत सम्मानित

kasji award
पोखरा
गणतन्त्र दिवसको अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिले कास्की वर्ष खेलाडी–२०७१ लगायतका पाँच विधामा विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ।समितिले विगत दुई वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पोखरा रड्डशालामा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
जसअनुसार कास्की वर्ष खेलाडीबाट दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेममा सहभागी ब्याडमिन्टनका अन्तर्राष्ट्रिय खेलाडी पुनम गुरुङ, कास्की वर्ष आदर्श व्यक्तित्वबाट कास्की जिल्ला एथलेटिक्स सङ्घका अध्यक्ष खेमबहादुर गुरुङ, कास्की वर्ष उत्कृष्ट प्रशिक्षकबाट सितोरियो कराँतेका सुरेन्द्रकुमार गुरुङ, कास्की उत्कृष्ट सङ्घसंस्थाको तर्फबाट कास्की जिल्ला ब्याडमिन्टन सङ्घ र कास्की वर्ष खेल पत्रकारबाट नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका सचिव दिननाथ बराल पुरस्कृत तथा सम्मानित भए।जिल्ला, क्षेत्रीय, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी पुनम गुरुङलाई नगद ३० हजार र सम्मानपत्रले सम्मान गरियो। बाँकी चारजनाले जनही पाँच हजार र सम्मानपत्र पाए।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले पुरस्कृत व्यक्तित्वलाई सम्मान गरेका थिए। सो अवसरमा प्रजिअ राउतले जीवनको उर्वर समय खेलमा लगानी गरेका खेलाडीको कदर हुनु स्वागतयोग्य भएको भन्दै जिल्ला खेलकुद विकास समितिको सो कार्यक्रमको प्रशंसा गरे।
उनले सम्मानले खेलमा गरेको लगानीको वास्तविक रूपमा कदर भएको प्रमाणित भएको दाबी गरे। भूकम्पले आहत पारेको समयमा खेलाडीको सम्मानले केही परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले वर्षेनी भव्य किसिमले कार्यक्रम गरिने गरेको भए पनि यस वर्ष मुलुकमा आएको विनाशकारी महाभूकम्पका कारण सामान्य तरिकाले गरिएको बताए। उनले आफ्नो सम्पूर्ण जीवन खेलमा लगानी गर्ने सबैको कदर हुनुपर्छ भन्ने मान्यताले नै आफूहरूले विगतदेखि यो कार्यक्रम ल्याएको र आगामी दिनमा पनि यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए।

Comment