ग्लोबल आइएमई बैङ्कले पुष्प खेतीका लागि हरित गृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैङ्क लिमिटेड र फ्लोर कल्चर एसोसिएसन नेपाल बिच पुष्प खेती तथा आलङ्कारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरित गृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
सो समझदारीमा बैङ्कका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असीम कर्माचार्य र फ्लोर कल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, बैङ्कले पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरित गृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोर कल्चर एसोसिएसन नेपालले आफ्नो सदस्यहरूलाई बैङ्कको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।
यसबाट व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरित गृह प्रविधिहरूको प्रवर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
बैङ्क र एसोसिएसन बिचको सहकार्यले हरित गृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।
ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले रेमिटेन्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैङ्कले रेमिटेन्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान गरेको छ ।
