सुदूरपश्चिम प्ले अफमा

Manoj Shiama
30 November, 2025 6:43 am


नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफ’मा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जनकपुरलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दोस्रो सिजनको एनपीएलमा लगातार पाचौँ जित दर्ता गर्दै अपराजित प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । साविक विजेता जनकपुर बोल्ट्स लगातार चौथो खेलमा हार ब्यहोरेसँगै प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ बा बाँकी रहँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि इशान पाण्डेले ५६ रनको अर्धशतकीय पारी खेले । उनले ३५ बलमा ८ चौका र १ छक्का प्रहार गरे । उनले तेस्रो विकेटको लागि विनोद भण्डारीसँग ९२ रनको साझेदारी गरे ।

सुरुवाती २ विकेट सस्तैमा गुमाएको सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारी र इशान पाण्डेको साझेदारीले जितको नजिक पूर्यायो । विनोद भण्डारीले ४२ रन बनाए। हर्मित सिंह २५ र कप्तान दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे।

जनकपुरका लागि माज सदाकले २ र सञ्जय कृष्णमुर्थीले १ विकेट लिए । टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५० रन बनाए । उनले ३८ब लमा ४ चौका र २ छक्का प्रहार गरे । उनले पाँचौँ विकेटको लागि ५५ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

ओपनर माज सदाकले १२ रन बनाए । अर्का ओपनर आसिफ शेख डकआउट भए । मयन यादव ६ रनमा पेभेलियन फर्किए । निकोल लोफ्टी इटोनले ३९ रन बनाए । आदित्य महताले १५ रन बनाउँदा शुभ कंसाकर डक आउट भए ।

वायन पर्नेल १४ रन बनाउँदै अन्तिम बलमा क्याच भए । रुपेश सिंह १ रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सका लागि अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिए । स्क्ट केगुइलिनले ३ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।