वाटको शतकमा कर्णालीको जित

Manoj Shiama
23 November, 2025 4:56 am

नेपाल प्रिमियर लिग (एनपीएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै सानदार जित हासिल गरेको छ ।

वाटले शतक प्रहार गरेपछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो । उत्कृष्ट प्रदर्शन गरेका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै नकआउट ११४ रन बनाए । विल बोसिस्टोले २० बलमा नकआउट २९ रन बनाए । उनले २ चौका र एक छक्का प्रहार गरे।

वाटले दशौँ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरुद्ध २६ रन प्रहार गरेका थिए । सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए । वाटले यो सिजनको एनपिएलमा पहिलो शतक प्रहार गरेका हुन् । अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्स विरुद्ध नै १०४ रन प्रहार गरेका थिए ।

त्यसअघि कर्णालीका ओपनर प्रियांक पाञ्चल १२ रनमा आउट भएका थिए । शनिवार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्ध शतक बनाउन चुके । उनी १७औँ ओभरको चौथो बलमा सोमपालको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए । रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको लुम्बिनीका ओपनर सन्दीप जोरा दोस्रो ओभरमा नन्दन यादवको बलमा विल बोसिस्टोबाट एक रनमै क्याच भए । डार्शी सर्टले १९ रन बनाए । उनले १४ बलमा ४ चौका प्रहार गरे। डार्शी र रोहितबिच दोस्रो विकेटको लागि ३६ रनको साझेदारी भयो ।

सुस्त ब्याटिङ गरेको लुम्बिनीले पावर प्लेमा एक विकेटको क्षतिमा ३६ रन र १० ओभरमा ३ विकेटको क्षतिमा ५९ रन मात्र जोड्न सकेको थियो । यद्यपि लुम्बिनीले पछिल्लो पाँच ओभरमै ६८ रन जोडेको थियो ।

दिलीप नाथ ६ रन, गुल्बादिन नइब ७ रन र सुमित महर्जनले ४ रन मात्र बनाए । जेजी स्मितले १४ बलमा दुई चौका र १ छक्काको मद्दतमा २३ रन बनाए । अन्त्यमा रुबेल ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्काको मद्दतमा नकआउट २९ रन जोडेपछि लुम्बिनीले १५० रन कटाएको थियो ।

कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए । यसअघि पहिलो खेलमा लुम्बिनी विजयी हुँदा कर्णालीले भने हार बेहोरेको थियो ।