तिमल्सिनाको पहलमा नापितलाई आर्थिक सहयोग

pitamber timsina
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाको पहलमा भूकम्प पीडित राखेपअन्तर्गत तथ्याङक शाखामा करार सेवामा कार्यरत सहायक द्वितीय बालमुकुन्द नापितलाई मंगलबार आर्थिक सहयोग प्रदान गरिएको छ ।  बैशाख १२ गतेको विनाशकारी भूकम्पमा नापितकी धर्मपत्नी लक्ष्मीको निधन भएको थियो । त्यसबेला नापित धर्मपत्नी र नाबालक छोरा ३ वर्षिय रिजेशसहित कपनको साततले भवनमा देरा गरी बस्थे ।
तिमल्सिनाकी छोरी आर्यनाले ५० हजार रुपैयाँ बराबरको चेक रिजेशलाई राखेप हातामा हस्तान्तरण गरिन् । तिमल्सिनाले रिजेशको अध्ययन खर्चमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउदै भूकम्पले खेलक्षेत्रमा पु¥याएको क्षतिलाई राज्यले छुट्टै प्याकेज तयार गरी सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले रिजेशकै नाममा खाता खोली रकम जम्मा गर्ने व्यवस्था पनि मिलाएको बताए ।
तिमल्सिनकै पहलमा नापितलाई ग्यास सिलिन्डर र चुलो, ब्याङकेट र मुन्डी पनि त्यसै अवसरमा प्रदान गरिएको थियो । उक्त सामाग्री नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीले नापितलाई हस्तान्तरण गरे ।आर्थिक र राहत सामाग्रीका लागि बेलायतमा रहेका सूर्य महतो, अभिषेक गुप्ता र सर्मिला थापा, अमेरिकामा रहेकी शारिका थापा तथा अल्फाज बोज (ग्लोबल फुड) ले सहयोग गरेको तिमल्सिनाले जानकारी गराए ।
सोही अवसरमा नेपाल च्यानबारा स्पोर्ट्स संघका अध्यक्ष समेत रहेका राखेप सदस्य देवकुमार लामाले पनि नापितलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

Comment