राहत वितरणमा खेलाडी संघ र महर्जनको सक्रियता

meene
बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडितलाई भूकम्प गएको दोश्रो दिनदेखि नै राहत सामाग्री वितरण सुरु गर्न थालेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले भूकम्प गएको १३ दिनपछि पनि राहत वितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।
यसै क्रममा बिहीबार महर्जनसहित खेलाडी संघको टोलीले ललितपुरको दक्षिण भेगमा पर्ने नल्लु गाविसको ५, ६, ७, ८ र ९ वडाका भूकम्प पीडितलाई राहत सामाग्री वितरण ग¥यो । करिब २ सय घरधुरीलाई चामल, दाल, तेल, नुन, बेसार, साबुन, लत्ताकपडा, पाल, चाउचाउ, विस्कुट, दालमोठ र औषधि गरी करिब २ लाख मूल्य बराबरको राहत सामाग्री वितरण गरिएको महर्जनले जानकारी गराए ।
महर्जनका अनुसार यसअघि भट्टेडाँडा, माल्टा, लेले, ढुकु, देवीचौर र चापागाउँका पीडितलाई पनि राहत समाग्री वितरण गरी सकिएको छ ।
‘ललितपुरको दुर्गमका साथै अति प्रभावित क्षेत्र जहाँ खाद्यान्नको अभाव छ त्यहाँ राहत सामाग्री वितरण गर्ने हाम्रो उद्देश्य हो ।’ महर्जनले भने– ‘अब मानीखेल, बुखेल, कालेश्वर, चन्दनपुर, संखु, दलचौकी, चौघरे, बडीखेल, झरुवाराशी, गोदावरीलगायतका क्षेत्रमा पनि राहत सामाग्री वितरणमा केन्द्रीत हुनेछौं । सिन्धुपाल्चोकमा पनि राहत सामाग्री लैजाने तयारीमा छौं ।’
महर्जनसहित खेलाडी संघका अध्यक्ष एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी चार स्वर्णधारी दीपक विष्ट, खेलाडी संघका महासचिव एवं आठौं र नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता दीपक श्रेष्ठ, आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी रवि महर्जन, तीन पटकका टेबलटेनिस राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे, राष्ट्रिय कराते खेलाडी विनोद महर्जन, पर्वतारोही सञ्जय पण्डितलगायतले राहत वितरण गरेका थिए ।
राहत वितरणपछि अध्यक्ष विष्टले भने– ‘उहाँ (मीनकृष्ण) ले जुन तरिकाले पीडितलाई राहत वितरण गुर्नभएको छ, खेलाडी संघलाई साथ दिनु भएको छ, खेलाडीलाई माया गर्नु भएको छ, समाज र आफ्नो क्षेत्रलाई माया गर्नु भएको छ यसका लागि म उहाँलाई खेलाडी संघको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहन्छु ।’

Comment