अन्तर्राष्ट्रिय टेबलटेनिसले १० हजार डलर सहयोग गर्ने

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पीडित नेपाली टेबलटेनिस खेलाडीलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
महासंघका अध्यक्ष थोमस वेकार्ट ९त्जयmबक ध्भष्पबचत० ले अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यलाई उक्त रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको स्वयं वज्राचार्यले जानकारी गराए । वज्राचार्य अप्रिल २६ देखि मे ३ तारिखसम्म भएको विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपाली टोलीको व्यवस्थापकका रुपमा चीनको सुझावमा थिए । त्यसैबेला वज्राचार्यको भेट थोमससंग भएको थियो । बैशाख ११ गते चीनको कुल्मिङ पुगेको नेपाली टेबलटेनिस टोली भूकम्प गएकै दिन बैशाख १२ गते प्रतियोगिता आयोजना स्थल सुझाव पुगेको थियो ।
‘पहिलो चोटी अप्रिल २६ मा उहाँ (थोमस) संग भेट हुँदा पीडित टेबलटेनिस खेलाडीलाई सहयोग गर्छु मात्र भन्नुभएको थियो । मे ४ तारिखमा फेरी भेट हुँदा उहाँले रकम नै खुलाएर १० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’– वज्राचार्यले बताए ।
वर्जाचार्यका अुसार महासंघले सहयोग रकम अखिल नेपाल टेबलटेनिस संघमार्फत पठाउनेछ । वज्राचार्यले सहयोगका लागि थोमसलाई अखिल नेपाल टेबलटेनिस संघको तर्फबाट धन्यवाद दिएका थिए ।
नेपालले तीन खेल मात्र जित्यो ः
विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपाली खेलाडीले तीन खेल मात्र जित्यो । जितेका तीनै खेल महिला सिंगल्समा रह्यो ।
राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले भेनेन्जुएला र श्रीलंकाली खेलाडीलाई पराजित गरिन् भने रविना महर्जनले कोलम्बियाकी खेलाडीलाई हराइन् । दुवैले लिग खेलमा उक्त सफलता हात पारेका हुन् ।
३–३ पुरुष÷महिला गरी जम्मा ६ खेलाडीले च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएका थिए । सहभागी अन्य महिला खेलाडीमा एलिना महर्जन तथा पुरुषमा राष्ट्रिय च्याम्पियन दीप साउन, अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य रहेका छन् । नेपाली खेलाडीले पुरुष÷महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा सहभागिता जनाएका थिए । टोली मंगलबारै स्वदेश फर्किसकेको छ ।
यसैबीच चीनको टेबलटेनिस सामाग्री उत्पादक कम्पनी डबल हेपिनेसले च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीलाई १ लाख मूल्य बराबरको खेल सामाग्री र पोशाक प्रायोजन गरेको वज्राचार्यले जनाएका छन् ।

Comment