भुटानविरुद्ध नेपालको फराकिलो जित

Manoj Shiama
2 July, 2025 8:30 am

रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको फराकिलो जित निकालेको छ । मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलवार को खेलमा भुटानलाई विशाल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२ दशमलव ४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटानका अन्तिम ब्याटर क्रिजमै नआएकाले नेपाललाई विजेता बनाइयो ।

भुटानका लागि सुजन दावाले सर्वाधिक १४ रन हाने । उता ओपनर उयोग छोफेल १० रनमै आउट भए । भुटानका अरू कुनै खेलाडीले दोहोरो स्कोर गर्न सकेनन् ।

 नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन दिँदै ४ विकेट झारे । उता सचिन भट्ट र सुयोग भट्टराईले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा गएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रनको विशाल चुनौती खडा गरेको थियो ।

नेपाललाई विशाल लक्ष्यतिर लैजाने क्रममा रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । १७ रनको अवस्थामा २ विकेट गुमाएर दबाबमा परेको नेपाललाई तेस्रो विकेटका रूपमा रौनक र शिवान्श बजगाईँले ९१ रनको साझेदारीसहित जोगाए । शिवान्शले ५२ बलमा ५ चौकासहित ५४ रन हानेका थिए ।

त्यसपछि रौनकले चौथो विकेटका लागि सुगम बुढाथोकीसँग मिलेर ७२ रनको साझेदारी गर्न सफल भए । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन बनाए । पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १३० बल खेल्दै १७० रनको साझेदारी गरे। जोय ६७ बलमा ७ चौका हान्दै ६१ रनमा अविजित रहे ।

यसअघि शतक बनाएका प्रसिद्ध जैसी ७ रनमा आउट भए । परिमार्जन यादव २ रनमा बाहिरिए । भुटानका लागि सञ्जय दोर्जेले ३ विकेट लिए । भुटानविरुद्धको जितपछि नेपाल समूह ‘ए’ का चारै खेल शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको छ ।

भुटानले समूह चरणका सबै चार खेलमा हार भोगेको छ । अब ऊ प्रतियोगिताबाट बाहिरिएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) द्वारा आयोजित प्रतियोगितामा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान समूह ‘ए’ मा छन् । मलेसिया, हङकङ, मालदिभ्स, थाइल्यान्ड र म्यानमार समूह ‘बी’ मा छन्।