नेपालको शानदार जित

नेपाल एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार इन्डोनेसियालाई ३ सय ७० रनको ठुलो अन्तरले हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले इन्डोनेसियालाई सहजै हरायो ।
समूह चरणको खेलमा नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको हो । समूह चरणको अन्तिम खेलमा नेपालले अब भुटानसँग खेल्नेछ । प्रसिद्ध जैसीको १ सय ३२ रनको शानदार इनिङ्स र विपिन शर्माले ६ विकेट लिए पछि नेपालले इन्डोनेसियामाथि ३ सय ७० रनको जित निकालेको हो ।
नेपालले प्रस्तुत गरेको ४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ दशमलव ३ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो ।
इन्डोनेसियालाई सस्तैमा समेट्न विपिन प्रसाद शर्माले ६ विकेट लिए । उनले १२ ओभर बलिङ गर्दै २ मेडन ओभर फाल्दै १२ रन खर्चिएर ६ विकेट लिएका हुन् । संगम बुढाथोकी र शुभम खनालको नाममा एक एक विकेट रह्यो ।
इन्डोनेसियाका काभिन चड्डाले १५ र दिभित नन्दाले १४ रनको दोहोरो स्कोर छुन सके । बाँकी एक अङ्क कै स्कोरमा पवोलियन फर्किए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको स्कोर खडा गर्यो । प्रसिद्ध जैसीले १ सय ३२ रनको शानदार इनिङ्स खेले । उनले १ सय १४ बलको सामना गर्दै १५ चौका र १ छक्काको मदतले सो रन खडा गरेका थिए । यस्तै, रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले ५७ रनको योगदान दिए ।