खेलपत्रकार भोम्जनको परिवारलाई सहयोग

10985342_10205880553429364_7723584195006586726_n(1)

१२ वैशाखमा आएको महाभूकम्पमा परी दिवंगत खेलपत्रकार सुमन भोम्जनको परिवारलाई प्रेस चौतारी मकवानपुरको संयोजनमा हेटौँडा एफएमले आर्थिक सहयोग गरेको छ । हेटौँडा एफएमले सञ्चालन गरेको भूकम्पपीडित राहतकोषको रकममध्ये भोम्जनका आमा बिमला र बुबा सुरेन्द्रलाई २० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रताप विष्ट, हेटौँडा एफएमका अध्यक्ष गणेश भेटवाल र प्रबन्ध निर्देशक उज्ज्वल चौलागाइँले रकम हस्तान्तरण गरेका हुन् । खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष रहेका भोम्जन गोरखापत्र दैनिकमा ०६८ बाट कार्यरत थिए ।
०४२ मा मकवानपुरको पदपोखरीमा जन्मिएका भोम्जन ०६४ बाट पत्रकारितामा क्रियाशील छन् । काठमाडौँ महाबौद्धमा घरले पुरिएको अवस्थामा शनिबार उनको शव भेटिएको हो ।
भूकम्पमा हेटौँडा–१० मा रहेको भोम्जनको घर पनि क्षतिग्रस्त भएको छ । तीनतले पक्की घरको भूइँतल्ला काम नलाग्ने गरी चर्किएर भासिएपछि भोम्जनको परिवार छिमेकमा बस्दै आएका छन् ।

Comment