टोखामा भयो बेसिक क्रिकेट क्याम्प सम्पन्न

Manoj Shiama
23 June, 2025 6:02 am

२०७८ असार ५ गतेदेखि ७ गतेसम्म टोखा–११ स्थित निर्मल बटिका स्कुलको खेलमैदानमा आयोजित बेसिक क्रिकेट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ। पुष्पलाल स्पोर्ट्स सेन्टरको आयोजनामा र टोखा वडा नम्बर ११ को सहकार्यमा सम्पन्न उक्त क्याम्पमा १०० भन्दा बढी भाइबहिनी खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि टोखा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा टोखा वडा नं. ८ का वडा अध्यक्ष रमेश खत्री थिए भने कार्यक्रममा अतिथिको रूपमा  टोखा वडा नं. ११ की वडा सदस्य शोभा पाण्डेको पनि उपस्थिति थियो । प्रशिक्षण ग्रेट हिमालय क्रिकेट एकेडेमी र राष्ट्रिय खेलकुद परिषद्का क्रिकेट प्रमुख प्रशिक्षक साम्सन जङ थापा तथा सहायक प्रशिक्षक सबल अधिकारीले  प्रशिक्षण दिएका थिए ।

यस तीन दिने क्याम्पले टोखा क्षेत्रका बालबालिका तथा किशोर–किशोरीहरूमा खेलकुदप्रतिको रुचि विकास गर्नुका साथै स्थानीय स्तरमा क्रिकेट खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।