टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

Manoj Shiama
22 June, 2025 4:32 am

७ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको  छ ।

लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिवार भएको फाइनलमा  गोल्डेनगेटललाई ८०-७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।

सुरुबाटै टाईम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९-१४ ले आफ्नो पक्षमा पारे पनि हाफ टाइमसम्म टाईम्सले नै ३४-२७ को अग्रता बनाएको थियो ।

तेस्रो क्क्वाटर २६-२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०-४८ को अग्रता बनाएको थियो । चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पारेको थियो । तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अङ्क अन्तरले च्याम्पियन बन्यो ।

यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो । च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पार्‍यो । यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त गर्‍यो । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर हाउण्ड्सका विजय बुर्जा घोषित भए ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाइनलमा स्थान बनाएका थिए ।  तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्‍यो । हाउण्ड्सले पहिलो क्वाटरमा २२-१३ को अग्रता बनाएको थियो । कीर्तिपुरले दोस्रो क्वाटर २२-१९ र तेस्रो क्वाटर २२-२० ले आफ्नो पक्षमा पारेको थियो । तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१-५७ ले अघि थियो । चौथो क्वाटर १९-१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो ।

यस्तै फाइनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो । जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३-२१ ले हरायो ।

नेपाल बास्केटबल सङ्घ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए ।पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउन्ड रोविनको आधारमा खेलाइएको थियो ।

पहिलो संस्करण सफल पूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिष्कृत गर्दै लैजाने नेबा अध्यक्ष निमसिंह गुरुङले बताए ।