हाप्किडो राष्ट्रिय च्याम्पियनसिप सुरु

१० औ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसै गरी उनले नेपालमा हाप्किडो खेलको विकासमा सङ्घ नेतृत्वले खेलेको कदमको पनि प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममा नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरले हाप्किडोमा आबद्ध हरेक व्यक्तिले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिए । उद्घाटन समारोहमा राखेप बोर्ड सदस्य हिमाल श्रेष्ठ, नेपाल हाप्किडो सङ्घका उपाध्यक्ष देव बहादुर कुँवर, महासचिव इन्द्र बहादुर महरा, उपमहासचिव मोहम्मद समीर हलुवाई, सचिव टिकाराम घर्ती मगर, सदस्य खिम पुन मगर र राजेन्द्र मडै, मुख्य प्रशिक्षक प्रवीण गुरुङ र रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष भुम लाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन नेपाल हाप्किडो सङ्घकी कोशाध्यक्ष विजया कुमारी वाइवाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम नेपाल हाप्किडो सङ्घका अध्यक्ष काली बहादुर घर्ती मगरको सभापतित्वमा भएको थियो ।
प्रतियोगितामा ७ प्रदेशका करिब ५०० खेलाडीको सहभागिता छ । प्रतियोगितामा ७२ स्पर्धा समावेश गरिएको प्राविधिक कमिटीका संयोजक तथा मुख्य प्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए । उमेर, तौल र बेल्टको आधारमा स्पर्धा चयन गरिएको हो ।

दुई दिन प्रतियोगिताले रुपन्देहीका हाप्किडो खेलको विकासमा ठुलो सहयोग पुग्ने विश्वास रहेको रुपन्देही जिल्ला हाप्किडो सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।